पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी भन्छन् : पनौती–खोपासी सडकको लागि रकमान्तर भइसक्यो, चालु आर्थिक बर्षमा नै काम हुन्छ (भिडियोसहित)

नौलो समाचार संवाददाता
२०८१ बैशाख १५, शनिबार मा प्रकाशित १०१ पटक पढिएको
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी भन्छन् : पनौती–खोपासी सडकको लागि रकमान्तर भइसक्यो, चालु आर्थिक बर्षमा नै काम हुन्छ (भिडियोसहित)

पनौती / पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बहुप्रतिक्षित पनौती–खोपासी सडकमा चालु आर्थिक बर्ष (असारमसान्तसम्म) मा नै काम हुने बताएका छन् ।

उक्त सडकका बारेमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुनुका साथै वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारीले आमरण अनसनको तयारी गरेपछि उनले यसको प्रगतिबारे जानकारी गराएका हुन् ।

पनौती नगर प्रमुखको सचिवालय नामक फेसबुक पेजमार्फत सार्वजनिक उनको भिडियो सन्देशमा करिब साढे ४ करोड बजेट रकमान्तर भइसकेकाले यही बर्ष काम हुने गरी काम अघि बढाइएको बताइएको छ । ‘आदरणीय पनौती नगरवासीमा म पनौती–खोपासी सडकको बारेमा केही जानकारी उपलव्ध गराउन चाहन्छु, यो बाटोको लागि चालु आर्थिक बर्षको लागि एक शीर्षकमा ९० लाख र अर्र्काेमा २० लाख गरी १ करोड १० लागि विनियोजन भएको थियो । पनौतीको सबैभन्दा फराकिलो उक्त बाटोमा ग्रिनरीसहित डिपिआर तयार लग्दा लागत ३१ करोड भएपछि त्यो बहुबर्षीय बनाउन प्रदेश सरकारबाट स्विकृती नभएपछि पुन संशोधन गर्यौ । २ दशमलव ३ किलोमिटर सडक कालोपत्रे गर्नको लागि १४ करोड ४६ लाखको प्रस्ताव तयार भएपछि भौतिक पूर्वाधार मन्त्रालयबाट आर्थिक मामिला मन्त्रालयमार्फत ४ करोड ५० लाख रकमान्तर पनि भएको छ,’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘बहुबर्षीय बनाउन अथक प्रयास गर्दा पनि नसकिएपछि पूर्वाधार विकास कार्यालयको समन्वयमा रकमान्तर भएको ४ करोड ५० लाख बराबरको रकमको काम यही आर्थिक बर्षमा गर्ने गरी काम अघि बढाएका छांै, मलाई जहाँसम्म लाग्छ यो चाँडै ठेक्का प्रकृयामा जान्छ । म पनौती वडा नं १०, ९, ७ र त्यहाँ भएर दक्षिणतर्फ जाने नागरिकलाई म के अनुरोध गर्छु भने, यो आर्थिक बर्षको लागि रकमान्तर भएर आएको पैसा यही बर्षमा खर्च गर्ने गरी हरप्रयासमा म लागिरहेको छ, यही क्षेत्रबाट निर्वाचित सांसद तीर्थ लामा पनि यसमा लाग्नुभएको जानकारी गराउन चाहन्छु ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.facebook.com/100094117201829/videos/334141749763951/

लामो समयसम्म कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परेको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी हुने गरेको छ भने वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारीले आमरण अनसनको तयारी गरेका छन् ।

सडक चौडा गरिएको लामो समयसम्म पनि कालोपत्रे नगरिएको र पटक पटक गुनासो गर्दा पनि कुनै निकायबाट सुनुवाइ नभएको र श्रोत सुनिश्चित नभएको भन्दै वडाअध्यक्ष मोहनबहादुर भण्डारीले वैशाख १६ गते आइतबारबाट आमरण अनसन बस्ने बताएका छन्  ।

वडा कार्यालयमा नै पत्रकार सम्मेलन गर्दै भण्डारीले २१ दिनभित्र पनि सडक कालोपत्रे गर्नको लागि श्रोत सुनिश्चित नगरे २०८१ वैशाख १६ गतेबाट वडाको सिमानामा आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

पनौती देखि क्लव घरसम्मको ४ किलोमिटर सडक कालोपत्रे नहुँदा स्थानीयले धुलो, हिलो सामना गर्नुपरेको छ । सडकको दुरावस्थाका कारण सार्वजनिक यातायात नियमित सञ्चालन हुन नसक्दा स्कुल, कलेजका विद्यार्थी थप मारमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस