पनौती वडा नं १० का अध्यक्ष भण्डारीले थाले आमरण अनसन

नौलो समाचार संवाददाता
२०८१ बैशाख १६, आईतबार मा प्रकाशित ८४ पटक पढिएको
पनौती वडा नं १० का अध्यक्ष भण्डारीले थाले आमरण अनसन

पनौती / सडक चौडा गरिएको लामो समयसम्म पनि पनौती–खोपासी सडक कालोपत्रे नगरिएको र पटक –पटक गुनासो गर्दा पनि कुनै निकायबाट सुनुवाइ नभएको र निर्माणमा चासो नदेखाएको भन्दै पनौती वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारी सो सडक खण्डको रोशी खोला पुल छेउमा आमरण अनसनमा बसेका छन् ।

२०८० चैत्र २५ गते वडा कार्यालय नै पत्रकार सम्मेलन गर्दै भण्डारीले २१ दिनभित्र पनि सडक कालोपत्रे गर्नको लागि श्रोत सुनिश्चित नगरे २०८१ वैशाख १६ गतेबाट आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

एक अपिल जारी गर्दै उनले पत्रकार सम्मलेलन र विज्ञप्तिमार्फत अल्टिमेटम दिएर अनुरोध गर्दा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आमरण अनसनमा बस्नुपरेको भन्दै ऐक्यवद्धताको लागि सबैमा अपिल समेत गरेका छन् । ‘ज्यानको समेत पर्वाह नगरी’ आमरण अनसनमा बसेको भन्दै उनले ‘कुनै किसिमको तल माथि भएको खण्डमा’ त्यसको जिम्मेवारी तीनै तहको सरकार र सम्बद्ध निकायले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

पनौती देखि क्लव घरसम्मको ४ किलोमिटर सडक कालोपत्रे नहुँदा स्थानीयले धुलो, हिलो सामना गर्दै आएका छन् । सडकको दुरावस्थाका कारण सार्वजनिक यातायात नियमित सञ्चालन हुन नसक्दा स्कुल, कलेजका विद्यार्थी थप मारमा परेका छन् । सवारी दुर्घटनामा समेत हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस