काभ्रे सेवा समाजको साधारणसभामा ४ प्रतिभा सम्मानित

नौलो समाचार संवाददाता
२०८१ बैशाख २३, आईतबार मा प्रकाशित ८२ पटक पढिएको
काभ्रे सेवा समाजको साधारणसभामा ४ प्रतिभा सम्मानित

काठमाडौं / काभ्रेको विकास र पहिचानमा योगदान गरेका ४ प्रतिभालाई काभ्रे सेवा समाजले सम्मान गरेको छ ।

बाहौं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा काभ्रेमा जन्मिएर निजामती सेवाको विशिष्ट श्रेणीको पदमा कार्यरत नेपाल सरकारका सचिव हरिप्रसाद मैनाली र राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई सम्मान गरियो । कला, साहित्य र संगितबाट समाज र राष्ट्रलाई विशिष्ट योगदान गरेका काभ्रेली प्रतिभा वरिष्ठ गायक दीपक खरेल र भोजपुरमा जन्मिएर विगत लामोसमयदेखि काभ्रेलाई कर्मभूमी बनाउँदै साहित्य साधन गरिरहेका शब्दयात्रा प्रकाशनका अध्यक्ष वरिष्ठ साहित्यकार हरि मञ्जुश्री अधिकारीलाई सम्मान गरियो ।

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य सुर्यमान दोङ, मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, सम्मानित व्यक्तित्व हरि मञ्जुश्री, काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद के.सी., पूर्व अध्यक्ष केशव थापा, वरिष्ठ उपाध्यक्ष पूर्ण सिं खड्का लगायतले काभ्रेको विकासमा योगदान गर्नुपर्नेमा जोड दिए ।

साधारण सभामा महासचिव राघवसिंह थापाले पेश गरेको कार्यप्रगति प्रतिवेदन र भावी कार्ययोजना, कोषाध्यक्ष दिना श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन र अनुमानित बजेटसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सोही कार्यक्रममा समाजले प्रत्येक वर्ष प्रकाशन गर्दै आइरहेको प्रकाशन ‘काभ्रेली गुञ्जन’को आठौं अंकको विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस