सशस्त्र प्रहरी बल नं. १५ गण काभ्रेले मनायो २२ औं स्थापना दिवस

नौलो समाचार संवाददाता
२०८१ बैशाख २४, सोमबार मा प्रकाशित १८६ पटक पढिएको
सशस्त्र प्रहरी बल नं. १५ गण काभ्रेले मनायो २२ औं स्थापना दिवस

पाँचखाल / पाँचखाल नगरपालिका वडा नम्बर ३, कुरकुरेडाँडा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हेडक्वाटर काभ्रेले २२ औं स्थापना दिवस मनाएको छ ।

सप्ताहव्यापी विभिन्न कार्यक्रम गरेर गणले स्थापना दिवस मनाएको हो ।

तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषदको मिति २०५८ चैत्र  ३० गतेको निर्णयले मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बाग्मती अञ्चलमा परिचालन हुने गरी प्रसिद्ध देवी कालिन्चोक भगवतीको नामबाट नामाकरण गरी २०५९ बैशाख २४ गते चितवन जिल्लाको दारेचोक गा.वि.स. वडा नं. ३ स्थित कुरिनटारमा स्थापना भएको थियो ।

काठमाण्डौं उपत्यकाको सुरक्षामा समेत तैनाथी रहनुपर्ने तत्कालिन अवस्थालाई मध्यनजर गरी संगठनको निर्देशन अनुरुप २०६० भदौ १३ गते काठमाण्डौं जिल्लाको किर्तिपुर नगरपालिका वडा नं. ०८ गोदामचौरस्थित चम्पादेवीको बाँझोवारीमा स्थानान्तरण भई कार्य सम्पादन गर्दै थालेको थियो । उक्त स्थानमा नेपाल ए.पि.एफ. स्कूल स्थापना गर्ने संगठनको लक्ष्य अनुरुप सो स्थान स्कुललाई हस्तान्तरण  गरि २०६२ पुस २७ गतेबाट  कीर्तिपुर नगरपालीका वडा नं.–०६ चोभार स्थित केन्द्रिय बागवानीको दक्षिणपट्टीको भागमा पूनः स्थानान्तरण भएको थियो ।

सशस्त्र प्रहरी बल नेपालको पुनःसंरचना गर्न बनेको “संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७५ को १६ (ङ) बमोजिम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ स्थित कुरकुरे डाँडामा २२० रोपनी जग्गा प्राप्ति भई भवन निर्माण कार्य समापन पश्चात २०७६ बैशाख १६ गते सम्पुर्ण रुपमा स्थानान्तरण भई अप्रेशनल तथा प्रशासनिक कार्य संचालन गरिएको थियो ।  २०७६ असार २९ गते तत्कालिन संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक  शैलेन्द्र खनालले  समुद्घाटन गरेका थिए ।

पुर्नसंरचना पश्चात सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हेडक्वाटर काभ्रे नाम रहन गएको गणले नयाँ संरचना बमोजिम  जिम्मेवारी ईलाका अन्तरगत काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप गरी ३ वटा जिल्लाहरु रहेकोमा  गुल्म रामेछाप ‘सशस्त्र प्रहरी बल नेपालको आश्रित गुल्म तथा बोर्डर आउट पोष्टहरुमा जनशक्ति परिचालन सम्बन्धी कार्यदेश २०७७’ अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं १६ गण हेडक्वाटर सिन्धुपाल्चोक मातहत रही कार्य संञ्चालन गर्दै आईरहेको तथा आश्रित गुल्म सिन्धुलीलाई प्रशासनिक जनशक्ति एवं प्रबन्धको व्यवस्थापन गणबाट गर्दै आईरहेको छ ।

सोमबार पाँचखालमा आयोजित विशेष समारोहमा गणले आयोजना गरेको विभिन्न आन्तरिक खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने प्रहरी कर्मचारी, उत्कृष्ट कर्तव्यपालना गर्ने सशस्त्र प्रहरीलाई सम्मान गरियो । गणका विभिन्न समयमा सहयोग गर्ने दाताहरुलाई समारोहमा कदर पत्र प्रदान गरियो  ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले सशस्त्र प्रहरीले सिमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सुरक्षा र बिपद व्यवस्थापनमा काम गरिरहेको भन्दै व्यक्तिगत भन्दा रास्ट्रको हित सोचेर काम गर्न सकल दर्जालाई निर्देशन दिए ।

धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्यान्जु श्रेष्ठ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले मुलुकको सुरक्षा र विपद व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भुमिकाको प्रसंशा गरे ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हेडक्वाटर काभ्रेका गणपति त्रिभुवन विष्टले संगठन गरिमा कायम गर्दै जिल्लामा कर्तव्यपालना गरिरहेको बताए ।

कार्यक्रममा नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, मण्डनदेउपुरका उपप्रमुख विष्णुमणि नेपाल, पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार, जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता अप्सरा सिपखान लगायतका जनप्रतिनिधी, जिल्ला सुरक्षा समितिका पदाधिकारी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।

सशस्त्र प्रहरीहरुले विभिन्न सास्कृतिक प्रस्तुती र कौशल प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस