छुट भएका बालबालिकालाई जेठ १३ देखि पोलियो विरुद्धको खोप लगाइने

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार मा प्रकाशित १९२ पटक पढिएको
छुट भएका बालबालिकालाई जेठ १३ देखि पोलियो विरुद्धको खोप लगाइने

धुलिखेल /  खोप आपुर्ति बन्द हुँदा पोलियो विरुद्धको खोप लगाउन छुट भएका बालबालिकालाई जेठ १३ गतेदेखि अभियान चलाएर खोप लगाउन लागिएको छ ।

सुई मार्फत लगाइने पोलियो विरुद्धको खोप (आइपिभी) २०७३ जेठ देखि २०७५ भाद्रसम्म नेपालमा आपुर्ति बन्द भएको थियो ।

२०७३ वैशाखदेखि २०७५ आश्विनभित्र जन्मिएका बालबालिकालाई अभियान अन्तर्गत जेठ १३ गतेदेखि २६ गतेसम्म खोप लगाइने समितिका सदस्य–सचिव समेत रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।

जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेका अनुसार, १३ वटा स्थानीय तहका १७ हजार ७ सय ५९ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । विद्यालय बाहिर रहेका बालबालिकालाई अभियानमा समेट्ने चुनौती रहेको उनले बताए ।

विद्यालयमा सञ्चालन गरिने खोप केन्द्रका लागि २ सय ६१ खोपकर्मी र ५ सय ११ शिक्षकलाई अनुशिक्षण गरिसकिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

मुखबाट खुवाइने पोलियो विरुद्धको खोप (ओपीभि) को परिपुरकको रुपमा २०७१ आश्विनबाट नेपालमा सुईबाट लगाइने पोलियो विरुद्धको खोप (आइपीभि) लगाउन शुरु गरिएको थियो । ५ बर्ष मुनिका बालबालिकालाई पोलियोको जोखिम बढी हुन्छ । पोलियो लागेमा पक्षघातको जोखिम हुन्छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखि अभियान सञ्चालन गरिएको भन्दै तयारी र सावधानी अपनाउन अनुरोध गरे ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सबै लक्षित वर्गले खोप पाउने गरी अभियान चलाउन अनुरोध गरिन् ।


प्रतिक्रिया दिनुहोस