तालढुंगा / जनस्वास्थ्य कार्यालय काभ्रेले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा गरेको बृहत स्वास्थ्य शिविरमा ४ सय ९१ जना लाभान्वित भएका छन् ।
गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको तालढुंगामा विभिन्न विधाका विशेषज्ञ चिकित्सकसहित शिविर आयोजना गरेको थियो ।

जेठ ८ र ९ गते चलेको शिविरमा सामान्य चिकित्साका १ सय ५१ जना, हाडजोर्नीका १ सय १ जना, नाक, कान, घाँटीका ८५ जना , आँखाका २ सय ३५ जना, दाँतका २७ जना, स्त्री तथा प्रसुतीका ७१ जना, छालासम्बन्धी ५५ जना, बालरोगका ३१ जना जनालाई विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण, उपचार र परामर्श सेवा प्रदान गरेको कार्यक्रम संयोजक रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका परिवार नियोजन सुपरिवेक्षण तथा निरिक्षण अधिकृत पद्मराज कैनीले जानकारी दिए । उनका अनुुसार, एकै जनाले विभिन्न प्रकारका विशेषज्ञ सेवा लिएका थिए । प्रयोगशाला परिक्षण गर्नुका साथै औषधी पनि निशुल्क औषधी वितरण गरिएको थियो । सेवाग्राहीलाई व्यवहार परिवर्तन तथा सरसफाइ प्रवर्द्धन सम्वन्धी स्वास्थ्य शिक्षा समेत दिइएको थियो ।

जनरल फिजिसियन डा. दिपक ढकाल र डा. विज्ञान लामिछाने, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुविन व्यञ्जनकार, स्त्री तथा प्रसुती रोगका डा. सिर्जना रावल, बालरोगका डा. लिजा पुरी, आँखा रोगका डा. राहुल गुप्ता, नाक, कान, घाँटीका डा. अनिल पाण्डे, छालारोगका डा. अनुराग तिवारी, दन्त रोगका डा. अल्बिना घिमिरे, अप्थाल्मिक असिस्टेन्ट पुजा कार्की, फार्मेसी अधिकृत प्रवेश आचार्य, स्वास्थ्य अधिकृत नविन रेग्मी, जनस्वास्थ्य अधिकृत अनिता खनाल, खानीखोला गाउँपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख दुतराज थापा मगरसहित तालढुंंगाा स्वास्थ्यचौकीसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।
एकिकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान अन्तर्गत विकट क्षेत्रमा विशेषज्ञ सेवा दिने उद्धेश्यले शिविर गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बताइन् ।
गाउँमा नै विशेषज्ञ सेवा पाउँदा स्थानीयले खुशी व्यक्त गरेका छन् ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले तालढुंगामा विशेषज्ञसहितको सेवा प्रदान गरेकोमा सम्बद्ध सबैमा आभार प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस