पनौतीमा बालबालिकासंग मेयर कार्यक्रम : बालबालिकाले राखे जिज्ञासा र गुनासा

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १०, बिहिबार मा प्रकाशित १७४ पटक पढिएको
पनौतीमा बालबालिकासंग मेयर कार्यक्रम :  बालबालिकाले राखे जिज्ञासा र गुनासा

पनौती / पनौती नगरपालिकाले गरेको ‘मेयरसँग बालबालिका’ कार्यक्रममा बालबालिकाले जनप्रतिनिधीसंग आफ्ना जिज्ञासा र गुनासो राखेका छन् ।

पनौती  नगरपालिका बालमैत्री शाखाको आयोजना र पनौती नगर स्तरीय बाल समुह संजालको समन्वयमा भएको कार्यक्रममा बालबालिकाले प्रत्येक वडामा बालमैत्री सार्वजनिक शौचालय, बालमैत्री पार्क, विद्यालयमा सेनिटरी प्याड, डिस्पोजल कीट, पुस्तकालय, खेलमैदान, खेलकुद सामाग्री व्यवस्थापन गर्नका साथै सार्वजनिक स्थानमा धुम्रपान र मध्यपानको प्रयोग र बेचबिखन रोक्न अनुरोध गरेका थिए ।

सामुदायिक विद्यालयले शुल्क उठाएको, गाडी भाडामा छुट नभएको, विद्यार्थीहरु शिक्षकहरुबाट दण्डित हुनु परेको गुनासो गर्दै बालबालिकाहले नीजी विद्यालयमा पनि सेनिटरी प्याड वितरण गर्न अनुरोध गरेका थिए । धेरै लगानी गर्दा पनि सामुदायिक विद्यालयमा शिक्षाको स्तर खस्किएको भन्दै उनीहरुले अनुगमन गर्न अनुरोध गरेका थिए । छोराछोरीको सुरक्षाको बिषयमा अभिभावक चिन्तित हुनुपरेको, म्याद गुज्रिएका खाद्य सामाग्री विक्री हुँदा बालबालिकाको स्वास्थ्यमा असर परेको गुनासो बालबालिकाको छ ।


नगर प्रमुख रामशरण भण्डारी र उप प्रमुख गीता बन्जाराले बालबालिका समस्या, गुनासा र अपेक्षाहरु पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

बालबालिकाको माग, आवस्यकता सम्बोधन गर्नका साथै बालबालिकाको अधिकार संगसंगै कर्तव्यको समेत बोध गराउने उद्देश्यले कार्यक्रम गरेको बालमैत्री शाखा प्रमुख केशव बन्जाराले जानकारी दिए ।

३९ सूचक पुरा गरेर २०७८ साल असार ३० गते बालमैत्री नगर घोषणा भएको पनौती निकट समयमा नै बालश्रममुक्त नगर घोषणा गर्ने तयारीमा छ ।


प्रतिक्रिया दिनुहोस