वडामा नै सामाजिक सुरक्षा भत्ता पाउँदा खानीखोलाका लाभग्राही खुशी

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार मा प्रकाशित १०४ पटक पढिएको
वडामा नै सामाजिक सुरक्षा भत्ता पाउँदा खानीखोलाका लाभग्राही खुशी

तालढुंगा /  खानीखोला गाउँपालिका वडा नं ७ का शेरबहादुर घ्यावाको शरिरमा थकान त थियो, तर उनको मुहार उज्यालो थियो । सामाजिक सुरक्षा बुझ्न यसअघि गाउँपालिकाको केन्द्र तालढुंगामा रहेको बैंक पुग्नुपर्ने बाध्यतामा रहेका घ्यावा आफ्नै वडामा भत्ता बुझ्न पाउँदा खुशी थिए । अझ छाता र लौरो पाएपछि त उनी झन् खुशी भए । ‘यो एकदमै राम्रो काम हो, वडामा नै भत्ता पाउँदा खुशी लागेको छ, गाउँपालिका, वडा सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

निर्वाचनको बेलामा खुट्टा भाचिएर घाइते भएर पनि आफ्नो मताधिकार प्रयोग गरेकी सो वडाका एक जेष्ठ नागरिकले वडामा नै सामाजिक सुरक्षा भत्ता पाउँदा खुशी भएको प्रतिकृया दिइन् । ‘खुट्टा भाँचिएको बेलामा पनि आएर मतदान गरेको थिए, अहिले जनप्रतिनिधीहरुले वडामा नै ल्याएर वृद्धभत्ता बाड्नुभयो, एकदमै खुशी छौं,’ नाम उल्लेख नगरेकी ती जेष्ठ नागरिक महिलाले भनिन् ।

गाउँपालिकाको केन्द्रमा रहेको बैंक सम्म आउन भौगोलिक रुपमा असहज भएपछि खानीखोला गाउँपालिकाले वडा वडामा नै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

सडक र यातायातको असुविधा रहेको गाउँपालिकाले जेष्ठ नागरिक, एकल, पूर्ण अपांगता भएकालाई वडा तहमा नै भत्तासंगै जेष्ठ नागरिकको लागि लौरो र छाता उपलव्ध गराएको हो ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंक खातामा पठाउन अनिवार्य गरेपछि भौगोलिक रुपमा विकट क्षेत्रमा लाभग्राहीले समस्या भोग्दै आएका छन् ।

एस वि आइ बैंक तालढुंगाको सहकार्यमा गाउँपालिकाले ७ वटै वडामा तेस्रो त्रैमासिक अवधीको सामाजिक सुरक्षा भत्ता उपलव्ध गराएको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा सहभागी गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, उपाध्यक्ष दोर्जेमान जिम्बालगायतले आफ्ना नागरिकलाई सेवा, सुविधा उपलव्ध गराउन गाउँपालिका सदैव तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस