नसर्ने रोगको धुलिखेलमा स्वास्थ्य परिक्षण

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार मा प्रकाशित १०६ पटक पढिएको
नसर्ने रोगको धुलिखेलमा स्वास्थ्य परिक्षण

धुलिखेल / जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले नसर्ने रोगको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको सहआयोजनामा गणतन्त्र दिवस २०८१ को सन्दर्भ समेत पारेर ‘मे मेजरमेन्ट मन्थ’ अभियान २०८१ अन्तर्गत स्वास्थ्य परिक्षण एवं परामर्श सेवा प्रदान गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।

उच्च रक्तचाप, मधुमेह आदि समस्या पहिचानको लागि गरिएको परिक्षणमा १ सय ६० जनाले सेवा लिएको कार्यक्रम संयोजक समेत रहेका परिवार नियोजन अधिकृत पद्मराज कैनीले जानकारी दिए । उनका अनुसार, परिक्षण गराएका मध्ये १५ लाई उच्च रक्तचाप र ३३ जनालाई मधुमेहको समस्या देखिएकोले थप परिक्षणको लागि परामर्श प्रदान गरिएको छ ।

स्वास्थ्य परिक्षणमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले अति आवस्यक र राम्रो कार्यक्रम आयोजना गरेको भन्दै प्रशंसा गरे ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गणतन्त्र दिवसको सन्दर्भ पारेर उपयोगी कार्यक्रम गर्न सहयोग गर्ने सबैमा आभार प्रकट गरिन् ।


प्रतिक्रिया दिनुहोस