काभ्रे उद्योग वाणिज्य संघको निर्वाचन : प्रताप वैद्यको प्यानल सार्वजनिक

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित १११ पटक पढिएको
काभ्रे उद्योग वाणिज्य संघको निर्वाचन : प्रताप वैद्यको प्यानल सार्वजनिक

बनेपा / काभ्रे उद्योग वाणिज्य संघको ४२ औं बार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गतको निर्वाचनको लागि अध्यक्ष पदका उम्मेदवार प्रताप वैद्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।

बनेपामा बिहिवार पत्रकार सम्मेलन गरेर बैद्यले प्यानल सार्वजनिक गरेका हुन् ।

उक्त प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ग्रोवेन तौजले, उपाध्यक्षमा उमेश शाक्य र विकास तिमल्सिना, महासचिवमा यशकुमार रन्जित, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ, सचिवमा कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजकमा भिमप्रसाद आचार्य, सहसचिवमा श्यामकुमार भालु (मुनाल) र सहकोषाध्यक्षमा सरोजकाजी श्रेष्ठ छन् ।

खुल्ला सदस्य पदमा राजनबहादुर ढकाल, जंगबहादुर महत, नरेशराज कायस्थ, रोशन खुप्पा श्रेष्ठ, श्यामसुन्दर कुवर, विश्वजित भालु श्रेष्ठ, भिमबहादुर कर्मचार्य, सुमन चौप्रधान र गौतम मानन्धर छन् ।

सो समूहबाट बनेपा संयोजक पदमा उम्मेदवारी दिएका लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका वैद्य शिक्षा उद्यमी हुन् । काभ्रे उद्योग वाणिज्य संघ २०६३ सालमा बनेपा संयोजक हुँदै कार्यसमिति सदस्य, सचिव, महासचिव भएका बैद्यले २०७४ सालदेखि हालसम्म वरिष्ठ उपाध्यक्ष हुन् ।

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णगोपाल भैल, प्रकाश मानन्धरलगायतको समर्थन यो समूहलाई छ ।

समर्थन रहेपनि सुरकृष्ण बैद्य ‘सबैको साझा बन्ने’ भन्दै कार्यक्रममा उपस्थित भएका छैनन् ।

काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णगोपाल भैलले आफू सधै सत्यको पक्षमा रहेको भन्दै वैद्यको जित सुनिश्चित समेत भइसकेकोले सहयोग गरिदिन उद्योगी, व्यवसायीलाई अनुरोध गरे ।

अध्यक्षका प्रत्यासी वैद्यले आर्थिक मन्दीको चपेटा काभ्रेका उद्योगी व्यवसायीले प्रत्यक्ष भोगिरहेको भन्दै समस्या सामाधान गराउने योजना बोकेर निर्वाचनमा होमिएको बताए ।


प्रतिक्रिया दिनुहोस