जाँदाजादै प्रजिअ शर्माले सुनाइन् आफ्नो कार्यकालका ‘प्रमुख कार्य’

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २०, आईतबार मा प्रकाशित २३२ पटक पढिएको
जाँदाजादै प्रजिअ शर्माले सुनाइन् आफ्नो कार्यकालका ‘प्रमुख कार्य’

काभ्रेमा प्रमुख जिल्ला अधिकारी भएर ९ महिना २ दिन कार्यरत सहसचिव रुद्रादेवी शर्माले आफ्नो कार्यकालमा ‘सेवाप्रवाह र सुशासन कायम’ राख्न गरिएका प्रयासहरु सार्वजनिक गरेकी छन् ।

जाँदाजादै पत्रकार भेटघाट कार्यक्रम गरेर उनले काभ्रेमा सेवा गर्दा गरेका प्रयासहरुबारे चर्चा गरेकी हुन् । २०८० भदौ १८ गतेदेखि २०८१ जेठ २० गतेसम्म उनी काभ्रेमा प्रमुख जिल्ला अधिकारी थिइन् । गृह मन्त्रालयको निर्णयले हालै उनको बर्दिया सरुवा भएको छ ।

उनका अनुसार, सेवाग्राहीका गुनासो र समस्या सुन्न र सेवालाई प्रभावकारी वनाउन १० घण्टा (विहान ८ बजे देखि साझ ६ बजेसम्म) संचालन हुने गरी टोल फ्रि नम्बर १८१०५०००३७७ संचालनमा ल्याइएको छ । गैर आवासिय नागरिकता ५१ वटा, आमाको नामवाट १४ वटा नागरिकता जारी भएका छन् भने ४६ जनाले नागरिकता परित्याग गरेका छन् ।

दैनिक ५ सय जनाका दरले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको शर्माले जानकारी दिइन् । राष्ट्रिय परिचयपत्र तथा राहदानीको सेवामा टोकन प्रणालीको प्रयोग र निशुल्क कार्यालयवाटै फाराम भरी वाहिरी विचौलिया अन्त्य गरिएको उनले दाबी गरिन् । कार्यालयलाई अपांगमैत्री वनाउन र्याम्प र ह्वील चेयरको व्यवस्था गरिएको छ । सेवाग्राहीको चाप धान्न शनिवार वाहेकको सार्वजनिक विदामा नागरिकता राष्ट्रिय परिचयपत्र र राहदानीको सेवा निरन्तर दिइएको उनले जानकारी दिइन् ।

कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन स्थानीय तह वडावाट गरिने सिफारिसमा एकरुपता ल्याउन तथा शान्ति सुरक्षालाई प्रभावकारी वनाउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरु सहित पाँचखाल, पनौती, नमोवुद्ध, मण्डन देउपुरसहित ४ वटा नगरपालिका र ३ वटा गाँउपालिका गरी ७ पटा पालिकाका प्रमुखहरु वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु तथा वडा सचिवहरुसँग पालिकास्तरमै सेवा प्रवाह र शान्तिसुरक्षा सम्वन्धमा अन्तरकृया गरिएको उनले बताइन् ।

निर्माणाधिन कार्यालय भवनको सम्वन्धमा उनी कार्यरत रहेकै अवधीमा सर्वोच्च अदालयतवाट फैसला भइ आगामी वर्षको लागि वजेट विनियोजन भएको र हालको मूल्याङ्कन गरी प्रकृया अगाडि वढाउन शहरी विकास तथा भवन निर्माण विभागमा लेखि पठाइएको शर्माले जानकारी दिइन् ।

अपराध अनुसन्धान र पेन्डिङ मुद्दाहरुको फस्यौट फैसला कार्यान्वयन र फरार अपराधीको खोजी र पक्राउमा निरन्तरता दिइएको, महिला बालबालिका तथा ज्येष्ठ नागरिक पीडित भएका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखि अनुसन्धान गरिएको, प्राकृतिक स्रोतको गैरकानुनी दोहन उपर कारवाही गरी २१ लाख ९० हजार असुल गरिएको, विपद् प्रतिकार्य योजना तयारी र कार्यान्वयनका साथै विपद्को जोखिम नक्सांकन गरी १७४ जना तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको बताइन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह, सुरक्षा कायम गर्न सञ्चार क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरिन् ।


प्रतिक्रिया दिनुहोस