निर्माण सम्पन्न गर्न एक बर्ष बाँकी रहँदा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भौतिक प्रगति २६ प्रतिशत मात्रै

गृहमन्त्री लामिछानेले गरे निरिक्षण
नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार मा प्रकाशित २५३ पटक पढिएको
निर्माण सम्पन्न गर्न एक बर्ष बाँकी रहँदा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भौतिक प्रगति २६ प्रतिशत मात्रै

पनौती / पनौती नगरपालिका वडा नं ६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भौतिक प्रगति २६ प्रतिशत मात्रै देखिएको छ ।

२०८२ असार २८ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको परियोजनाको अवधी १ बर्ष मात्रै बाँकी रहँदा भौतिक प्रगति कम देखिएको हो । वित्तिय प्रगति पनि २० प्रतिशत मात्रै छ ।

आयोजना निरिक्षण गर्न आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जानकारी दिन आयोजित कार्यक्रम निर्माण कम्पनीका प्रमुख इञ्जिनियर राजेश कुमारका अनुसार, परिचालन गर्न दिएको ठेक्का रकमको १० प्रतिशत रकम समेत जोड्दा वित्तिय प्रगति ३० प्रतिशत छ ।

भारत सरकारको १० अर्ब १ करोड ५० लाख अनुदानमा निर्माण भइरहेको प्रतिष्ठान ३ बर्षमा सक्ने गरी २०७९ असार १३ गते सम्झौता भएको थियो । २०७९ असोज ७ गते तत्कालिन गृहमन्त्री बालकृष्ण खाँडले शिलान्यास गरेका थिए ।

प्रतिष्ठानका लागि करिब ६ सय ५० रोपनी क्षेत्रफलको परिसरमा प्रशासनिक भवनका अलावा कर्मचारी आवास, ३५ कक्षा कोठासहितको तालिम कक्ष, प्रयोगशाला, २ वटा तालिम हल, प्रेक्षालय, खेलकुद कम्प्लेकस, सपिङ कम्प्लेक्स, बैंक, एटिएम, ओलम्पिक क्षमताको स्विमिङ पुल, २४ बेडको अस्पताल, हेलिप्याड, हतियार भण्डारण कक्ष, फाइरिङ रेञ्ज निर्माण भइरहेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माणका क्रम देखिएको समन्वय र सहकार्यको प्रशंसा गर्दै माष्टर लिष्ट, भन्सार लगायतका क्षेत्रमा देखिएका समस्या सरकारले समाधान गरिदिने अपेक्षा गरे ।

गृहमन्त्री लामिछानेले काम राम्रोसंग भइरहेको भन्दै संलग्न सबैलाई धन्यवाद दिए । उनले नेपालको तर्फबाट भारतीय पक्षले केही सहजिकरण खोजेकोले सरकारले त्यसलाई समाधान गर्ने बताए । ‘भारतले छिट्टै आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्न चाहेको देखिन्छ, तर हाम्रै कारणले केही ढिलाइ भइरहेको भन्ने जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘फौजमा तालिम, प्रशिक्षणको महत्व हुने भएकाले यसलाई प्राथमिकतामा राखेर काम गर्छौ, हाम्रो तर्फको समस्या समाधान गरेर छिटो सम्पन्न गरी हस्तान्तरण गर्ने तयारीमा लाग्छौं ।’

अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले भन्सार शुल्क लगायत बिषयमा अर्थमन्त्री, सचिव लगायतसंग कुरा गरेर सहजीकरणको लागि तयार भएको बताए ।

 


प्रतिक्रिया दिनुहोस