खानीखोला गाउँपालिकाको प्रशासनिक भवन र जनमुक्ति मार्ग एकै साथ शिलान्यास

स्थानीय उत्पादन खरिद विक्री केन्द्र पनि उद्धघाटन
नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित ९२ पटक पढिएको
खानीखोला गाउँपालिकाको प्रशासनिक भवन र जनमुक्ति मार्ग एकै साथ शिलान्यास

तालढुंगा / संघीयतापछि स्थानीय तहको निर्वाचन भएको ७ औं बर्षमा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास भएको छ । बजेट, जग्गाका लगायतका कारण बाट बन्न नसकेको भवन ७ बर्षपछि बल्ल शुरुवात भएको हो ।

भवन अभावका कारण गाउँपालिकाले खोपासी–तालढुंगा सडक निर्माणको क्रममा तालढुंगामा निर्माण गरिएको भवनबाट सेवा दिँदै आएको छ । हाल ७ करोड २८ लाख १५ हजारको लागतमा प्रशासनिक भवन निर्माण हुन लागेको हो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भवन शिलान्यास गरेका हुन् ।

१० करोड १८ लाख ८ हजार लागतमा निर्माण हुन लागेको जनमुक्ति मार्गको तालढुंगा–सिक्रेदोभान –झुरझुरे सडक खण्ड पनि सोही कार्यक्रमका विच शिलान्यास गरियो । बीपी राजमार्गदेखि महाभारत पहाड हुँदै मदनभण्डारी राजमार्ग जोड्ने सडकलाई प्रदेश सरकारले जनमुक्ति मार्गको रुपमा अघि बढाएको छ ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको स्थानीय उत्पादन खरिद विक्री केन्द्रको मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गरे ।

कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले साना आयोजना कार्यान्वयन गर्न स्थानीय सरकारलाई अनुरोध गर्दै ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताए ।

 

डाँडापारिको तालढुंगालाई बनेपा र धुलिखेलसँग जोड्ने मुख्य सडक तालढुंगा–खोपासी सडकका लागि यसै वर्षबाट बजेट व्यवस्थापन गरी अगाडि बढाउने र तालढुंगा करिडोर र पालिकास्तरीय आधारभूत अस्पतालका लागि आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्ने मुख्यमन्त्री जम्कट्टेलले  प्रतिवद्धता पनि जनाए ।

प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले सो क्षेत्रको विकासको लागि शिक्षा र पूर्वाधारमा जोड दिनुपर्ने बताउँदै स्थानीय र प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढेको दाबी गरे ।

वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य तीर्थ लामाले विकासका काममा सबै राजनीतिक दल र नागरिक सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सडक पूर्वाधारको क्षेत्रमा विकास हुन थालेपछि डाँडापारिका नागरिकले गाउँघरमा नै सिहंदरबारको अनुभुति गर्न थालेको बताए ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सडक सञ्जालका कारण यहाँका नागरिकले सास्ती बेहोर्नु परेको भन्दै जनमुक्ति मार्ग र खोपासी–तालढुंगा सडकखण्ड पक्की बनेपछि सहज हुने अपेक्षा व्यक्त गरे ।

 


प्रतिक्रिया दिनुहोस