चापाखोरीमा पोषण र सरसफाई सिकाउन सिंगापुर रेडक्रसका स्वंयमसेवक

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित ४१५ पटक पढिएको
चापाखोरीमा पोषण र सरसफाई सिकाउन सिंगापुर रेडक्रसका स्वंयमसेवक

तेमाल /  स्वंयमसेवा गर्न सिंगापुर रेडक्रसमार्फत नेपाल आएका स्वंयमसेवकले तेमाल गाउँपालिका वडा नं ७ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा पोषण, व्यक्तिगत सरसफाई, स्वच्छताबारे कक्षा लिएका छन् ।

प्रारम्भ नामक सामाजिक संस्थामार्फत नेपाल आएका उनीहरुले सो विद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीलाई धात धुने तरिका, व्यक्तिगत सरसफाई र स्वास्थ्यको ख्याल कसरी गर्ने सिकाएका थिए ।

टोली प्रमुख मुक्सिन विन दहलान, चेन केजिन, गेराडिन एगारो, सेवास्टिन अनिता रोज, अनिशा विन्ते, टान केन्नाथ, प्रिवेन सुरज सन्त कुमारसहित स्वंयमसेवकको टोलीले अभिभावक र शिक्षक, कर्मचारीलाई समेत पोषण, उच्च रक्तचाप, मधुमेह लगायतका दिर्घरोग र यसका जोखिमबारे अभिमुखिकरण गराएको प्रारम्भका अध्यक्ष कल्पना क्षेत्रीले जानकारी दिइन् ।

मनोरोग विशेषज्ञ डा. प्रतिभा श्रेष्ठ, नर्स मनिषा श्रेष्ठ लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।

संस्थाले सबै विद्यार्थीको लागि ब्रस, मञ्जन, साबुन, अभिभावकलाई सातु लगायतका पोषणा सामाग्री र विद्यालयको पुस्तकालयको लागि पुस्तकहरु सहयोग गरेको छ । सो विद्यालय, चापाखोरी स्वास्थ्य चौकी र वडा कार्यालयको लागि १/१ वटा गरी ६ लाख बराबरको फिल्टर सहयोग गरेको छ ।

चापाखोरी स्वास्थ्य चौकीको लागि संस्थाले रक्तचाप नाप्ने मेसिन पनि सहयोग गरेको छ ।

संस्थाले बुधवार पनौती १० स्थित श्रीराम माध्यमिक विद्यालय र नगर अस्पताललाई सहयोग गर्दैछ ।

प्रारम्भले सिंगापुर रेडक्रससंगको सहकार्यमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

कार्यक्रममा तेमाल वडा नं ७ का अध्यक्ष इन्द्रलाल तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संग्रामजित लामा, प्रधानाध्यापक प्रेम लामा लगायतले वडा र विद्यालयको लागि गरेको सहयोग प्रति आभार प्रकट गरे ।

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पुर्व अध्यक्ष इश्वरी ओझा, समाजसेवि रमेश तामाङलगायतले प्रारम्भ र   सिंगापुर रेडक्रसले नेपालमा सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस