आमाको हत्या अभियोगमा छोरा पक्राउ

नौलो समाचार संवाददाता
२०८१ कार्तिक २०, मंगलबार मा प्रकाशित २०१ पटक पढिएको
आमाको हत्या अभियोगमा छोरा पक्राउ

धुलिखेल /  आमाको हत्या अभियोगमा रोशी गाउँपालिका वडा नं ३ का एक युवा पक्राउ परेका छन् ।

कार्तिक १६ गते सो स्थानकी ६९ बर्षी माइली लामाको हत्या अभियोगमा उनका छोरा २८ बर्षीय फुर्साङलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्काले जानकारी दिइन् ।

‘घटनाबारे जानकारी पाउने वित्तिकै खहरेपागुँ, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी परिचालन गरेका थियौं, घटनाको प्रकृति, स्थानीय र परिवारका सदस्यको बयान समेत सुन्दा छोराको गतिविधी शंकास्पद देखियो,’ पत्रकार सम्मेलनमा एसपी खड्काले भनिन्, ‘उनले भनेका कुरा काल्पनिक जस्ता लागेर शंकाको घेरामा राखेर अनुसन्धान गरेका थियौं, छोराले हत्या गरेको स्विकारेपछि कर्तव्य ज्यान मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाएका छौं ।’

घटना विवरण अनुसार, काठमाडौंमा रात्रीकालिन व्यवसायमा रहेका फुर्साङ तिहारको लागि भन्दै १२ गते घर आएका थिए । साथमा १४ सय रुपैयाँ मात्रै रहेका फुर्साङले आमा सुतिरहेको बेलामा कानमा लगाउने सुनको रिङ र पैसा देखेपछि ‘लोभ पलाएर’ आमाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । उनको साथबाट सुनको बिल बरामद भएको थियो भने रगत लागेको ३ हजार पैसा र सुनको रिङ खाल्डो खनेर घर पछाडी लुकाएको बयान दिएका थिए ।

माइली कार्तिक १६ गते आफ्नै घरको भान्सामा मृत फेला परेकी थिइन् । फुर्साङले मसला पिस्ने लोरोले टाउकोमा प्रहार गरी अचेत अवस्थामा रहेकी आमालाई पुनः नजिकै ढोकाको आग्लोले प्रहार गरी हत्या गरेका बयान दिइएको पत्रकार सम्मेलन जानकारी दिइयो ।

अनुसन्धानको लागि पुगेका प्रहरीलाई फुर्साङले घरमा खसी किन्न आएका व्यापारीले हत्या गरेको हुन सक्ने बताएका थिए । हत्या गरी काठमाडौं फर्केका फुर्साङलाई स्थानीयले आमाको मृत्युको खबर पाएपछि आफू माथि शंका हुने डरले गाउँ फर्केका थिए । माइलीको पोष्टमार्टमसम्म संलग्न फुर्साङको गतिविधी र बयान शंकास्पद देखिएपछि कार्तिक १८ गते फक्राउ गरेको हो ।

घटना अनुसन्धान गर्न प्रहरीले केनाईन महाशाखाबाट ‘टाइगर’ मगाएको थियो । प्रहरी दिवसमा उत्कृष्ट भन्दै पुरस्कृत प्रहरी निरिक्षक कृष्ण गिरी र कुकुर ‘टाइगर’सहितको प्रहरी टोलीले अनुसन्धान गरी फुर्साङलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस