आज हरिबोधनी एकादशी, काभ्रेको लड्केश्वरमा मेला

नौलो समाचार संवाददाता
२०८१ कार्तिक २७, मंगलबार मा प्रकाशित १०४ पटक पढिएको
आज हरिबोधनी एकादशी, काभ्रेको लड्केश्वरमा मेला
फाइल तस्वीर

बनेपा / भगवान विष्णुको उपसना र तुलसीको विवाह गरिने हरिबोधनी एकादशी आज । वर्षभर पर्ने चौबीसवटा एकादशीमध्ये हरिवोधनीलाई ‘ठूलो एकादशी’ को रुपमा लिइन्छ ।

आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख छ । यसैकारण यस दिनलाई हरिबोधिनी एकादशी भनिएको भन्ने विश्वास गरिन्छ ।

आषाढ शुक्ल एकादशीको दिन घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा छ ।

आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने चलन रहेको छ।

आज पनौती नगरपालिका वडा नं ११ बल्थली स्थित लड्केश्वर क्षेत्र, काठमाडौं उपत्यकाका चार नारायण–चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण लगायत देशभरका विष्णु मन्दिरहरूमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको भिड बिहानैदेखि लागेको छ ।

प्रतिक्रिया दिनुहोस