लाकोजूलाई अभिनन्दन, ‘घामको पर्खाल’बारे चर्चा

नौलो समाचार संवाददाता
२०८१ पौष १४, आईतबार मा प्रकाशित ११९ पटक पढिएको
लाकोजूलाई अभिनन्दन, ‘घामको पर्खाल’बारे चर्चा

काठमाडौं /  शैली साहित्य समाज नेपालले साहित्यकार सूर्यप्रसाद लाकोजूलाई अभिनन्दन गरेको छ ।

नेपाली वाङमयको क्षेत्रमा ‘अतुलनीय’ योगदान गरेकोे भन्दै समाजले लाकोजूलाई अभिनन्दन गरेको हो । साहित्यकार शैलेन्दुप्रकाश नेपाल, शैली साहित्य समाजका अध्यक्ष मन्जु केसी प्रधान (रानु), ज्ञान निष्ठ ज्ञवालीले अभिनन्दन पत्र, दोसल्लासहितले अभिनन्दन गरेका थिए ।

समाजका अध्यक्ष प्रधानले पनौतीमा बसेर देशभित्र मात्र नभइ बाहिर समेत आफ्नो सिर्जनाको आलोक छर्न सफल स्रष्टालाई अभिनन्दन गर्ने अवसर जुरेको बताइन् । समालोचक तथा साहित्यकार शैलेन्दुप्रकाश नेपालले उमेरमा भाइ भए पनि अक्षर कर्ममा सूर्य लाकोजू आफूभन्दा ‘ठूलो’ रहेको बिचार पोखे ।

लाकोजूको कृति ‘घामको पर्खाल’ माथि परिचर्चा समेत भएको कार्यक्रममा अर्का समालोचक ज्ञान निष्ठ ज्ञवालीले घामको पर्खाल सबैलाई न्यानो प्रदान गर्ने कृति भएको भाव पोखे । कवि ध्रुबराज थापा, राजुबाबु श्रेष्ठ (सागर), शैलेन्द्र श्रेष्ठले घामको पर्खालबाट कविता वाचन गरेका थिए ।

कृतिकार लाकोजूले कृतिमा देशप्रेम, समाजमा रहेका विकृति बिरुद्द असन्तोष , प्रेमप्रणयका सन्दर्भ , राजनैतिक बेथिति जस्ता विविध भाव झल्कने कविताहरू सङ्ग्रहित रहेको बताए ।

करिब तीन दर्जन भन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद कथा जस्ता विधामा कलम चलाउदै आएका छन् । लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत कृयाशिल छन् ।

 


प्रतिक्रिया दिनुहोस