लक्ष्मी नारायण (लक्ष्य) को स्मृतिमा पनौतीमा खुल्ला फुटबल प्रतियोगिता हुने

नौलो समाचार संवाददाता
२०८१ माघ २५, शुक्रबार मा प्रकाशित १३८ पटक पढिएको
लक्ष्मी नारायण (लक्ष्य) को स्मृतिमा पनौतीमा खुल्ला फुटबल प्रतियोगिता हुने

पनौती / पनौती क्षेत्रका चर्चित फुटबल खेलाडी लक्ष्मी नारायण खिबञ्जार (लक्ष्य) को स्मृतिमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

मानेश्वरी ब्वाइज क्लव र मानेश्वरी महिला समूहको आयोजना, पनौती नेपाल र विश्राम समाज पनौतीको सहआयोजनामा फाल्गुन ३ गतेबाट प्रतियोगिता हुन लागेको आयोजक मानेश्वरी ब्वाइज क्लवका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

पनौती क्षेत्रीय रंगशालामा हुने प्रतियोगितामा नेपालका ए र बि डिभिजनक क्लव, विभागीय टिमका साथै छिमेकी जिल्लाका क्लवहरु समेत करिब १५ टिमको सहभागिता रहने सहआयोजक विश्राम समाज पनौतीका अध्यक्ष ओमकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख रुपैयाँ र दोस्रो हुने टिमले १ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिता अवधीभरको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, गोलरक्षक, प्रतिरक्षक, खेल अवधीभरको उत्कृष्ट खेलाडीका साथै अनुशासित क्लवले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

पनौतीमा विभिन्न समयमा विविध विधामा फुटबल प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको क्लवले सामाजिक कृयाकलापहरु समेत गर्दै आएको छ ।

पनौती क्षेत्रमा फुटबल खेलमा ख्याती कमाएका लक्ष्मीनारायणको २०८० फाल्गुन ६ गते निधन भएको थियो । मानेश्वरी व्वाइज क्लवको तत्कालिन अध्यक्ष रहेका लक्ष्मीनारायण काभ्रे जिल्ला फुटबल संघको २ कार्यकाल सचिव भएर काम गरेका थिए ।

विभिन्न तहका प्रतियोगितामा खेलेका उनलाई नयाँ खेलाडी उत्पादन तथा प्रवद्र्धन गरेको भन्दै जिल्ला खेलकुद महोत्सव २०८० मा सम्मानित गरिएको थियो । फुटबल खेल र खेल प्रवद्र्धनमा योगदान दिएको भन्दै पनौती नगरपालिकाले पनि उनलाई सम्मान गरेको छ ।

शुक्रवार पनौतीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रेका शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, पनौती वडा नं ७ का अध्यक्ष सविन ताम्राकार, पनौती समाजका अध्यक्ष निवास श्रेष्ठ लगायतले खेलकुद क्षेत्रमा लक्ष्मीनारायणको योगदानको चर्चा गर्दै उनको स्मृतीमा गरिएको प्रतियोगिता सफलताको कामना गरे ।

प्रतिक्रिया दिनुहोस