चौरीदेउराली /काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले ‘जनयुद्ध दिवस’को सम्झनामा सार्वजनिक विदा दिएको छ ।
माघ ३० गते गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले हस्ताक्षर गरेको सूचना निकालेर गाउँपालिकाले शहिदहरुको उच्च सम्मानको लागि भन्दै फागुन १ गते बिदा दिने निर्णय सार्वजनिक गरेको हो ।
‘फाल्गुन १ गते लाई जनयुद्ध स्मरण र वलिदान दिने शहिदहरुको उच्च सम्मान गर्दै गाउँपालिकाको वडा कार्यालयहरु, सम्पूर्ण विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायतका मातहतका सबै सरकारी कार्यालयहरुमा मिति २०८० फाल्गुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको सबै सरोकारवालाहरुमा जानकारीको लागि अनुरोध गरिन्छ,’ अध्यक्ष चौंलागाईंद्वारा जारी सूचनामा उल्लेख छ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चौलागाईं नेपाली काङ्ग्रेससंगको गठबन्धनबाट निर्वाचित भएकी थिइन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झनामा फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरण लगायतले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलाशले जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर गरिदिएको थियो।
प्रतिक्रिया दिनुहोस