ढुंखर्क/ बेथानचोक गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नं. १ को चक्रेश्वर माध्यमिक विद्यालयले जितेको छ ।
गाउँपालिका खेलकुद शाखाको आयोजनमा भएको प्रतियोगिताको फाइनलमा वडा नं ५ को आत्मा विकास माध्यमिक विद्यालयलाई ३–२ को सेटमा पराजित गर्दैैैै चक्रेश्वरले उपाधी जितेको हो ।
प्रतियोगितामा वडा नं. ३ को कृष्णगोपाल माध्यमिक विद्यालय तेस्रो भयो । भिमसिनेश्वरलाई ३–२ को सेटमा पराजित गर्दैै कृष्णगोपालले तेस्रो स्थान पक्का गरेको हो । चक्रेश्वरका सिद्धान्त गोले उत्कृष्ट खेलाडी घोषित भए । विजेता टिम र खेलाडीलाई गाउँपालिका अध्यक्ष भगवान अधिकारले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरे ।
फागुन २ र ३ गते सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका १० मध्ये ९ विद्यालयले सहभागिता जनाएको गाउँपालिकाको स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले जानकारी दिए । प्रादेशिक रेफ्री दिलिपकुमार श्रेष्ठ, विरबहादुर लामा, विदुर तिमिल्सिनालगायत रेफ्रीको भूमिका थिए ।
समापनमा अध्यक्ष अधिकारीले असोज दोस्रो साताको बाढी र पहिरोका कारण हुन सक्ने मनोवैज्ञानिक त्रास न्यूनिकरणका लागि समेत प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे ।
समापनमा वडा नं. १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिना, २ नं वडाका अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ५ नं वडाका अध्यक्ष राजकुमार वाइबा, गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, काभ्रेको प्रतिनिधित्व गर्दै राष्ट्रिय टिमका पूर्व खेलाडीद्वय गोपालकृष्ण श्रेष्ठ र सुदिलदास श्रेष्ठ, पार्वती क्याम्पस प्रमुख राजेश तिमल्सिना, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य खेलप्रेमीको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस