पनौती / जिल्लाका दुई स्थानबाट विद्युतीय माइक्रो बस सेवा शुरु गरिएको छ ।
पनौती हुँदै काठमाडौं र आसपासका क्षेत्रमा डिजलबाट चल्ने मिनिबस सञ्चालन गर्दै आएकोे काभ्रे पुण्यवती यातायात प्रालिले खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः फर्कने गरी दुई वटा नयाँ रुटमा विद्युतीय माइक्रो बस सेवा शुरु गरेको हो ।
कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा आइतबार औपचारिक रुपमा सेवा शुभारम्भ गरेका थिए । छिटोछरितो सेवा दिन ५/५ वटा विद्युतीय माइक्रो बस शुरु गरिएको र आवश्यकता अनुसार थप्दै लगिने सैंजुले जानकारी दिए । ११ र १४ सिट क्षमताका विद्युतीय माइक्रो सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
२०३४ सालमा दर्ता भएको काभ्रे मिनिबस सेवा समिति नै २०७६ सालमा काभ्रे पुण्यवती यातायात प्रालिमा रुपान्तरण भएको हो । डिजेलबाट चल्ने बस/मिनिबस सञ्चालन गरिरहेको प्रा.लि. काभ्रेपलाञ्चोक जिल्लामा इभी माइक्रो सञ्चालन गर्ने पहिलो कम्पनी समेत बनेको छ ।
प्रतिक्रिया दिनुहोस