पनौती / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ‘ऋण नतिर्ने’ले नै सहकारीका बारेमा ‘भ्रम’ फैलाएको तर्क गरेका छन् ।
पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष महोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले ऋण लानेले नै ‘तिर्नुपर्दैन’भनेर सहकारी क्षेत्रबारे गलत सन्देश फैलाएको बताए ।
३१ हजार ४ सय सहकारी मध्ये करिब ४–५ सय सहकारीले गलत गरेको हुन सक्ने भन्दै त्यसकै आधारमा सहकारी क्षेत्रलाई बदनाम गर्न नहुने बताए । समस्याग्रस्त सहकारीका करिब ६ हजार ५ सय सदस्यको बचत फिर्ता गराइसकेको भन्दै मन्त्रालय र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले थप सूचना र पहल गरिरहेको बताए । सहकारी अध्यादेशले सम्बोधन गरेको नियमन प्राधिकरण, कर्जा सूचना केन्द्र, असुली न्याधिकरण र कोषको व्यवस्थाले सहकारी क्षेत्रको समस्या हल गर्ने विश्वास उनले व्यक्त गरे ।
भूमि समस्या समाधान आयोगले देशैभर काम थालेको भन्दै मन्त्री अधिकारीले वास्तविक भूमिहीनको पक्षमा सरकारले काम गर्ने बताए ।
समारोहमा शिक्षासेवी रामप्रसाद अधिकारीलाई शैक्षिक व्यक्तित्व सम्मान प्रदान गरियो । अन्य सहकारीको सदस्यता त्यागेर सहकारी ऐन पालना गरेको भन्दै सहकारीले बेथानचोक वडा नं २ का जयराम तिमल्सिना लगायत उत्कृष्ट सेवा केन्द्र, कर्मचारी र जेष्ठ सदस्य समेतलाई सम्मान गरेको थियो ।
२० हजार सदस्य रहेको सहकारीमा करिब १ अर्ब बराबरको कारोबार भएको र तरलता अभाव नभएको भन्दै सहकारीका अध्यक्ष उद्धव सापकोटाले संस्था र कर्मचारीले विभिन्न समयमा विभिन्न संस्थाबाट सम्मानित र पुरस्कृत हुँदै आएको बताए ।
प्रतिक्रिया दिनुहोस