खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकालाई प्रदेश राजधानी जोड्ने गरी बागमती खोलाको सिक्रेदोभानमा निर्माणाधीन पुल ८ बर्षदेखि अलपत्र छ ।
तत्कालिन जिल्ला विकास समिति मकवानपुरबाट महाविर/शिखर/तामाकोशी जेभीले ठेक्का पाएको सिक्रे दोभान पुल ठेक्का निर्माण नभई अलपत्र छ । करिब ११ करोडको लागत अनुमान गरिएको पुल निर्माण नहुँदा काभ्रेको खानीखोला र बागमती गाउँपालिकाका स्थानीय सास्ती खेप्न बाध्य छन् । प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीमा पुल नुहँदा खानीखोला गाउँपालिकाबासी घण्टौं लगाएर धुलिखेल, पनौती लगायतका शहरी क्षेत्र जानुपर्ने बाध्यतामा छन् ।
लामो समयदेखि पुल निर्माण अलपत्र भएपछि ३ स्थानीय तहले मुख्यमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहित जनप्रतिनिधिको टोलीले मूख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केलाई बागमती नदीको सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्न अनुरोध गरेका थिए ।
मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई चाँडो सम्पन्न हुने गरि प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । मुख्यमन्त्री लामाले विपदका कारण त्यस क्षेत्रमा भएको सडक सञ्जाल र अन्य पुलको समेत निर्माणमा तदारुकता दिने प्रतिवद्धता जनाए । मन्त्री मास्कले आफुले प्रदेशका रूग्ण योजना पहिचान गरि निमार्णमा गति दिने काम गरिरहेको बताउँदै बागमती नदीको सिक्रे दोभान पुलको कामलाई पनि अघि बढाउने बताए ।
जनप्रतिनिधीको टोलीले गत असोज ११ र १२ गतेको बाढिका कारण रोशी र महाभारत जोड्ने एकमात्र थान्सिङबेसी पुल बगाई क्षति पुगेकाले निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए ।
टोलीले २०७७ सालमा ठेक्का सम्झौता भई समयावधी पटक पटक थप गर्दा समेत ६० प्रतिशत पनि कार्य प्रगति नभएको भन्दै देविटार तिनखुट्टे खण्डको निर्माणमा तदारुकता दिन ध्यानाकर्षण गराएका थिए । बागमती प्रदेश सरकारको गौरवको आयोजना रहेको निर्माणाधिन जनमुक्ति मार्ग अन्तरगत हात्तिसार सिक्रे दोभान खण्ड (७ सय मिटर) गत असोज ११ र १२ गतेको बाढिले क्षतिग्रस्त भएकाले पुनर्निर्माणका लागि अनुरोध गर्दै खानी खोला र पार्वती खोला पुलमा समेत सोही समस्या रहेकाले उक्त आयोजनाहरु यथाशिघ्र सम्पन्न गर्न समेत ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस