कुन्ता / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई ०८४ सालमा हुने चुनाव भन्दा पनि देशको चिन्ता भएको तर्क गरेका छन् ।
शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेसीमा नेपाली कांग्रेस, मण्डनदेउपुर नगरपालिकाले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा शुभेच्छुक र भातृ संगठन विस्तार कार्यक्रममा सम्बोधन गर्दै ‘लाखौं कार्यकर्ताको प्यारो पार्टी’ नेपाली कांग्रेसले चुनावको नतिजा भन्दा पनि मुलुकलाई प्राथमिकतामा राखेको बताए । ‘केही पुराना पार्टी र नयाँ खोलिएका पार्टीले ०८४ सालको चुनावको चिन्ता गरिरहेका छन्,’ शर्माले भने, ‘ राजनीतिक दलहरुले सधैं चुनावको मात्र चिन्ता गरेर देशको चिन्ता कहिले गर्ने, ‘कांग्रेस चुनावको चिन्ता गरेर समय खेर फाल्दैन, देशको चिन्ता गरेर अघि बढ्न म सबै नेता कार्यकर्तालाई अनुरोध गर्दछु ।’ बाहिर हल्ला भएजस्तो कांग्रेसमा कुनै विवाद नरहेको बताउँदै महामन्त्री शर्माले आगामी चुनावमा कांग्रेस एकढिक्का भएर जाने औल्याए ।
केन्द्रीय सदस्य शिव हुमागाईंले आफ्नो कामको मूल्याकंन गरेर अघि बढ्नुपर्ने बताए ।
केन्द्रीय सदस्य मधु आचार्यले सबै मिलेर अघि बढ्दा कांग्रेस कहिले पनि कमजोर नहुने बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा केही कमजोरी भए सच्याएर अघि बढ्ने बताए ।
वागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादेले नेता कार्यकर्ताले दिएका सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बतााए ।
काभ्रे कांग्रेस सभापति तीर्थ लामाले जिल्लाका सबै विकासमा कांग्रेसको योगदान उच्च रहेकाले यसको मूल्यांकन जनताले गर्ने बताए ।
कार्यक्रममा कांग्रेस नेता प्रमोदहरि गुरागाईं, अच्युत पौडेल, नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकुरप्रसाद न्यौपाने, सचिव माधव ढकाल, जिल्ला सदस्य रामहरी सापकोटा, प्रतिनिधी सभा क्षेत्र नं २ का सभापति महेश खरेल, नेता सुन्दरमणि आचार्य, प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति हेम लामा, महासमिति सदस्य लिला नेपाल, नगर सभापति कश्यप पौडेल, उपसभापति एवं मण्डनदेउपुर नगर उपप्रमुख बिष्णुमणि नेपाललगायतका अधिकाशं वक्ताले पार्टीमा एकता कायम गर्दै कांग्रेस एक्लै निर्वाचन लड्नपर्ने तर्क गरेका थिए ।
सोही कार्यक्रममा नेपाली कांग्रेस पार्टीका भातृ एवं शुभेच्छुक संगठनको नगरस्तरीय समिति गठन तथा रिक्त पदपूर्ति गरिएको सचिव सुर्य ढकालले जानकारी दिए ।
यसैविच, कांग्रेस महामन्त्री शर्माले मण्डनभेगमा जन्मिएर स्थानीय, जिल्ला हुँदै राष्ट्रिय राजनीतिमासमेत चर्चा कमाएका राजनीतिज्ञ एवं समाजसेवी स्व. हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा अनावरण गर्दै उनको जीवनीबाट नयाँ पुस्ताले धेरै कुराहरु सिक्ने र उनको आदर्शमा सबै अघि बढ्न सक्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस