बनेपा / बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोड २० लाखले कम भएको तथ्याकं प्रस्तुत भएको छ ।
आर्थिक बर्ष २०८१/ ८२ को अर्धबार्षिक प्रगति समिक्षा गर्न आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा राजश्व शाखा प्रमुख सुमन भुर्तेलले प्रस्तुत गरेको तथ्यांकमा चालु आ.व. को साउन देखि पुषमसान्तसम्म १२ करोड ६१ लाख ३९ हजार ८ सय ७० आन्तरिक आय अनुमान गरिएकोमा सो अवधीमा ५ करोड ४१ लाख ४० हजार ५ सय ६५ रुपैयाँ ५७ पैसा मात्रै प्राप्त भएको उल्लेख छ । यो लक्ष्यको ४२ दशमलव ९२ प्रतिशत हो ।
भुर्तेलले चालु अवधीमा अनुमान भन्दा कम राजस्व उठेपनि आर्थिक बर्षको अन्त्यसम्ममा लक्ष्य प्राप्ती हुने दाबी गरे । ‘बैंक ग्यारेन्टी लागतयका बिषयहरु प्राप्त भइसकेका छैनन्, आर्थिक बर्षको अन्त्य सम्ममा त्यो लक्ष्य प्राप्ती हुन्छ,’ उनले भने । उनका अनुसार, गत बर्षको तुलनामा आन्तरिक आय भने ६ महिनाको अवधीमा बढेको छ । आर्थिक बर्ष २०८०/८१ मा साउनदेखि पौषसम्मको अवधीमा ४ करोड ५२ लाख ५ हजार ३ सय ९८ रुपैयाँ ६७ पैसा राजस्व संकलन भएकोमा आर्थिक बर्ष २०८१/८२ को सोही अवधीमा ५ करोड ४१ लाख ४० हजार ५ सय ६५ रुपैयाँ ६७ पैसा आन्तरिक आय भएको छ । यो गतबर्षको तुलनामा १९ दशमलव ७७ प्रतिशतले बढी हो ।
प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले दशैं तिहार लगायतका ठूला चाडपर्व र वोलपत्र (टेण्डर) प्रकृयाका कारण पुँजीगत खर्च र राजस्व आम्दानी केही कम भएको तर्क गरे । उनले चालु आर्थिक बर्षको लागि घाटा बजेट बनेकाले राजस्व बृद्धिमा ध्यान दिन सबै वडाका अध्यक्षहरुलाई अनुरोध गरे ।
वडाअध्यक्षहरुको कम उपस्थिती
नगरपालिकाको अर्धबार्षिक समिक्षा गर्न आयोजित कार्यक्रममा बनेपा नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुको उपस्थिती कम देखियो ।
नगर प्रमुख शान्तीरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेसहितका शाखा प्रमुख, वडा सदस्य लगायतका जनप्रतिनिधीहरु, कर्मचारी सहभागी कार्यक्रममा १४ मध्ये ५ वटा वडाका अध्यक्ष मात्रै सहभागी थिए ।
वडा नं १ का अध्यक्ष कमलप्रसाद घिमिरे, वडा नं ४ का श्यामसुन्दर श्रेष्ठ, वडा नं ७ का हिटलर शाक्य, वडा नं ९ का कार्यवहाक अध्यक्ष मनिषा तामाङ, वडा नं १३ का अध्यक्ष रामलाल दुवाल मात्रै सहभागी थिए ।
नगरपालिको विकास निर्माणबारे समिक्षा गर्न आयोजित कार्यक्रममा उनीहरुको कम उपस्थितीले उनीहरुको सम्वेदनशीलता दर्शाएको एक सहभागीले बताए ।
प्रतिक्रिया दिनुहोस