स्ववियू नेतृत्व सर्वसम्मत गर्ने विद्यार्थीका ५ संगठनविच सहमति

नौलो समाचार संवाददाता
२०८१ फागुन २६, सोमबार मा प्रकाशित ५३ पटक पढिएको
स्ववियू नेतृत्व सर्वसम्मत गर्ने विद्यार्थीका ५ संगठनविच सहमति

बनेपा / स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) नेतृत्व सर्वसम्मत गर्ने गरी प्रमुख दलका ५ विद्यार्थी संगठनविच सहमति भएको छ ।

विद्यार्थी संख्या समेत कम भएको र नेतृत्वको हानथापले शैक्षिक वातावरण विग्रन सक्ने भन्दै नेपाल विद्यार्थी सघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु),  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्वियु क्रान्तिकारी), अनेरास्ववियू र अखिल समाजवादी विच नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति भएको हो ।

सहमति अनुसार, नेपाल विद्यार्थी संघ र एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) ले ६÷६ क्याम्पसमा नेतृत्व गर्नेछन् ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्वियु क्रान्तिकारी)ले ३ क्याम्पसमा नेतृत्व लिनेछन् ।

नेविसंघले इन्द्रेश्वर, पार्वती, प्रकाश, चैतन्य, मंगलजन विजय र कानपुर क्याम्पस र अनेरास्ववियुले कुशादेवी, तेजगंगा, धुलिखेल, जनक, सर्वमंगला र डेडिथुम्का क्याम्पसमा  नेतृत्व गर्नेछ । अखिल क्रान्तिकारीले सञ्जिवनी, प्रभा र दाप्चा कृष्ण बहुमुखी क्याम्पसमा नेतृत्व पाउने सहमति छ  ।

एकीकृत समाजवादी निकट अनेरास्ववियूले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापति लिने सहमति छ । विप्लप निकट विद्यार्थी संगठन अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा दुई सदस्य धुलिखेलमा एक सदस्य पाउने सहमति बनेको छ ।

काभ्रे बहुमुखी क्याम्पसमा भने मित्रवत प्रतिस्पर्धा गर्ने सहमति बनेको नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकका सभापति अञ्जनराज खतिवडाले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा चैत्र ५ गते स्ववियू निर्वाचन तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस