बनेपा/ सवारी दुर्घटनामा घाइते शिक्षक म्हेन्दो लामाको उपचारको लागि जिल्लामा क्रियाशील शिक्षकका पेशागत संघ संगठन र सहकर्मीहरूले सहयोग गरेका छन्।
काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्कने क्रममा स्कुटर दुर्घटनामा परी तेमाल गाउँपालिका वडा नम्बर ७ स्थित कालीदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक म्हेन्दो लामाको उपचारका लागि शिक्षकका पेशागत संघ संगठन र सहकर्मी शिक्षकहरूको तर्फबाट संकलित ६६ हजार १ सय ५ रुपैयाँ नगद हस्तान्तरण गरियो।
नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक परिषद, उच्च मावि शिक्षक युनियन (हिस्टुन), नेपाल राहत शिक्षक जिल्ला समिति, नेपाल विद्यालय कर्मचारी परिषद, काभ्रेपलाञ्चोक समेतको सहभागितामा संकलित रकम नेपाल शिक्षक महासङ्घ आन्दोलन परिचालन समिति काभ्रेपलाञ्चोकका संयोजक समेत रहेका नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरे लगायतका शिक्षक नेता र सहकर्मीहरू अस्पताल नै पुगेर तामाङको परिवारलाई रकम हस्तान्तरण गरेका थिए।
१९औं दिनको आन्दोलनमा सहभागी भएर फर्कने क्रममा नमोद्ध नगरपालिका वडा नम्बर ५ कानपुर नजिकै उनी सवार स्कुटर दुर्घटनामा परेको थियो।
प्रतिक्रिया दिनुहोस