बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. ४, सोली थुम्कामा सिद्धेश्वर महादेव मन्दिर निर्माण गरिएको छ ।
गाउँपालिकाको वहुवर्षीय कार्यक्रम अन्तर्गत १२ लाख लागतमा मन्दिर तयार भएको हो । स्थानीय बुद्धिमाया तामाङले प्रदान गरेको चतुर्मुख शिवलिङ्ग राखिएको छ ।
शुक्रवार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले मन्दिर उद्घाटन गर्दै स्थानीय कला, धर्म, संस्कृति र सम्पदाको संरक्षण, संवद्र्धन र निर्माणमा गाउँपालिकाले योगदान दिँदै आएको बताउँदै संरक्षणमा स्थानीयले भूमिका खेल्नुपर्ने तर्क गरे ।

कार्यक्रममा वडा नं ४ का अध्यक्ष कृष्णबहादुर तामाङले बहुजाति बहुभाषीको बसोबास रहेको वडा नं. ४ मा उल्लेख्य मात्रामा मठमन्दिर र गुम्बाहरु रहेकोले धार्मिक पर्यटनको गन्तव्य बन्न सक्ने तर्क गरे । वडा नं. ३ का अध्यक्ष कुबेर ढकालले विपदपछि बेथानचोक पुनः उठेकोले विकास निर्माणले गति लिँदै जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्यहरु दिलकुमारी तामाङ, कर्ण तामाङ, चन्द्रबहादुर नगरकोटी, पूर्व वडा अध्यक्ष लालबहादुर श्रेष्ठ, न्यायिक शाखा प्रमुख श्रीकृष्ण तिमल्सिना, प्राविधिक दिपक प्रसाद हुमागाई, दलीय प्रतिनिधिहरु प्रेमप्रसाद श्रेष्ठ, भुवन कार्की र स्थानीयहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस