धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य बीमा सेवा अब धुलिखेल अस्पतालबाटै

नौलो समाचार संवाददाता
२०८२ श्रावण २५, आईतबार मा प्रकाशित ५१२ पटक पढिएको

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य बीमा सेवा अब धुलिखेल अस्पतालबाटै

धुलिखेल / भौतिक पूर्वाधार र जनशक्ति अभावको कारण देखाउदै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सेवा दिन आलटाल गरिरहेको धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले सामुदायिक अस्पताल धुलिखेल अस्पतालको भवनबाटै सोमबारदेखि सेवा सुचारु गर्ने भएको छ ।

पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गर्नुको साटो धुलिखेल नगरपालिकाअन्तर्गतको धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले रेफरलको लागि सहज हुनेगरी अस्पतालको भवनमा नै ‘विस्तारित स्वास्थ्य बीमा सेवा केन्द्र’ को सेवा दिने निर्णयसहित तयारी थालेको हो ।

सरकारी स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बीमाको प्रथम सेवाबिन्दु सेवा दिने नीति अनुसार धुलिखेल अस्पतालमा उपलब्ध हुँदै आएको प्रथम सेवा बिन्दुको सुविधा हटेर रेफरल सेन्टर (प्रेषण केन्द्र)को रुपमा मात्रै काम गरिरहेको छ ।

नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले धुलिखेल अस्पतालमा बीमा सेवा लिन आउनेलाई दुःख नहोस् भनेर धुलिखेल अस्पताल परिसरमा नै चिकित्सक, नर्स, औषधीसहित रिफरल सेवा शुरु गरेको तर्क गरे । धुलिखेल अस्पतालसंगको साझेदारीमा सेवा शुरु भएकाले जनशक्ति अभाव भएका बेला चिकित्सक लगायत भौतिक पूर्वाधारमा पनि सघाउने सहमति भएको बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार र जनशक्ति अभाव रहेकोले धुलिखेल अस्पतालबाट सेवा दिन लागिएको भन्दै उनले संघ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिवद्धता आएको बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रका विशेषज्ञ डा. दिपक ढकालले स्वास्थ्य बीमाको बिस्तारित सेवा दिनको लागि धुलिखेल अस्पताल परिसर भित्रै ‘कार्यकक्ष’ निर्माण गरिएको र त्यहाँबाट उपलव्ध नहुने सेवाको लागि रिफरल गरिने बताए ।

नगरपालिकाको आधारभूत स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले धुलिखेल अस्पतालको सेतो भवन नजिककैको कक्षबाट प्राथमिक स्वास्थ्य केन्द्रबाट हुने स्वास्थ्य बीमासंग सम्बन्धित स्वास्थ्य परिक्षण, औषधी उपचार लगायतका सेवा प्रदान गरिने बताए ।

सरकारी स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रममा प्रथम सेवा विन्दुको सेवा लिन पाउने व्यवस्था सरकारले गरेपछि धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु तोकेका २ लाख ५३ हजार ६ सय ८८ सेवाग्राहीको उपचार प्रभावित हुँदै आएको छन् । सामुदायिक अस्पताल धुलिखेल अस्पतालको प्रथम सेवा विन्दुबाटै विशेषज्ञ र अत्याधुनिक परिक्षण लगायतका उपचार सेवा लिँदै आएका सेवाग्राहीले ती सेवा लिनको लागि प्रथम सेवा विन्दु तोकिएका सरकारी स्वास्थ्य संस्थाबाट रिफरल (प्रेषण पत्र) लिनुपर्छ ।

२०७६ मंसिर १ गतेदेखि प्रथम सेवा विन्दुको रुपमा सुचिकृत मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखाल मध्ये मेथिनकोट अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र सुन्थान र खोपासीले मात्रै सेवा दिँदै आएका छन् । २०७६ देखि नै सुचिकृत भएपनि सेवा दिन आलटाल गर्दै आएका धुलिखेल र पाँचखालले पूर्वाधार र जनशक्तिको कारण देखाउँदै अझै सेवा दिन नसकिने भन्दै सूचना नै जारी गरेका थिए । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले साउन २६ गतेबाट धुलिखेल अस्पताल परिसरबाटै सेवा थाल्दैछ ।

यसविच, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी धुलिखेल लगायतका राजनीतिक दल, नगरपालिका, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल व्यवस्थापन समिति लगायतले धुलिखेल अस्पताललाई नै प्रथम सेवा विन्दु कायम गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदिप पौेडेललाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, नगर सभापति विदुरबहादुर बस्नेत, नगर उपप्रमुख निराजन जंगम, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धुलिखेल वडा नं ८ का अध्यक्ष विनोदकुमार गौतमसहित गएको जनप्रतिनिधी र दलको प्रतिनिधी मण्डलले धुलिखेल अस्पताल प्रथम सेवाविन्दु कायम नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा भौतिक पूर्वाधारको व्यवस्था, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्था मिलाई प्रथम सेवा विन्दुबाट दिने सेवा सञ्चालन गर्नको लागि निर्देशन दिन, दक्षिण एसियाको दोस्रो र नेपालको पहिलो ‘स्वस्थ्य शहर’ धुलिखेलमा रहेको १५ बेडको प्रादेशिक अस्पताल सञ्चालनमा ल्याई धुलिखेल नगरमा रहेको सम्पूर्ण स्वास्थ्य चौकिहरुको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण एवं जनशक्तिको व्यवस्था गरी गुणस्तरीय सेवा प्रबाहको लागि यथाशिघ्र पहल कदमी गर्न पनि माग गरेको थियो ।

स्वास्थ्यमन्त्री मन्त्री पौडेलले आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको दायित्व भएको संविधानमा नै उल्लेख भएको तर्क गर्दै जनशक्ति, उपकरण लगायतका पूर्वाधार सहयोग गर्न तयार भएको र स्थानीय तहले पनि सेवा दिन तदारुकता दिनुपर्ने बताएका थिए ।






प्रतिक्रिया दिनुहोस