आर्थिक बर्ष २०८१/८२ मा मण्डनदेउपुरको खर्च प्रगति ६१ दशमलव ०४ प्रतिशत

नौलो समाचार संवाददाता
२०८२ भाद्र २३, सोमबार मा प्रकाशित २७२ पटक पढिएको

आर्थिक बर्ष २०८१/८२ मा मण्डनदेउपुरको खर्च प्रगति ६१ दशमलव ०४ प्रतिशत

हिंगुवापाटी / मण्डनदेउपुर नगरपालिकले आर्थिक बर्ष (आ.व.) २०८१/८२ मा ६१ दशमलव ०४ प्रतिशत खर्च प्रगति हासिल गरेको छ ।

आर्थिक बर्ष २०८१/८२ को बार्षिक समिक्षा गर्न आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । १ अर्ब ५ करोड ८७ लाख २ हजार ७ सय ७८ बार्षिक बजेट रहेको नगरपालिकाले सो आ.व. मा ६४ करोड ६२ लाख ६० हार ५ सय १२ रुपैयाँ ६८ पैसा खर्च गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका वरिष्ठ लेखा अधिकृत पुष्पराज बजगाईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, पुँजीगततर्फ २१ करोड ९६ लाख ३७ हजार १ सय ७६ रुपैयाँ (४६ दशमलव ७ प्रतिशत) र चालुतर्फ ४२ करोड ६६ लाख २३ हजार ३ सय ३६ रुपैयाँ ६८ पैसा खर्च भएको छ ।

आन्तरिक आयको लक्ष्य भने १२ दशमलव ८३ प्रतिशत मात्रै प्राप्त भएको छ । आ.व. २०८१/८२ मा २४ करोड २३ लाख १८ हजार १ सय ७८ रुपैयाँ आम्दानीको लक्ष्य राखेको नगरपालिकाले ३ करोड १० लाख ९६ हजार ७ सय ९६ रुपैयाँ २६ पैसा वास्तविक आम्दानी गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखापरीक्षणबाट नगरपालिकामा १६ लाख ६८ हजार ८ सय ९ रुपैयाँ बेरुजू कायम भएको छ । यो कुल बजेटको ० दशमलव ०९ प्रतिशत हो । सो आ.व. मा नगरपालिका जिल्लाको ६ वटा नगरपालिकामा प्रथम र १३ वटा स्थानीय तहहरुमा दोस्रो भएको थियो ।

सोही आर्थिक बर्षमा नगरपालिकाले अघिल्ला आर्थिक वर्षहरुको बेरुजू ५ करोड ४० लाख ९१ हजार ८ सय ९८ रुपैयाँ सम्परीक्षण गरेको थियो । तत्कालिन गाउँ विकास समितिहरु समेतको बेरुजू गरेर नगरपालिकामा आ.व. २०८१/८२ सम्म १५ करोड ८७ लाख ८२ हजार रुपैयाँ बेरुजू कायम छ ।

 






प्रतिक्रिया दिनुहोस