काठमाडौं / मस्तिष्क, मेरुदण्ड, स्नायु र मांशपेशीजन्य रोगहरुको उपचारमा समर्पित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज (न्युरो अस्पताल, बाँसबारी) ले आधुनिक प्रविधीका उपकरणहरु भित्राएको छ ।
बुधबार अस्पतालमा पत्रकार सम्मेलन गरेर नेपालमा नै पहिलो पटक भित्रिएका ती प्रविधी, उपकरण, तिनको कार्यप्रणाली र उपचारमा हुने सहजता र सुरक्षाका बारेमा जानकारी दिइएको हो । अस्पतालले हालै ओ–आर्म मेसिन, स्टेल्थ–८ को न्युरो नेभिगेसन सिस्टम, केनोभो – ९०० को रोबोटिक माइक्रोस्कोप, इन्ट्रा अपरेटिभ न्युरो मनिटरिङ्ग, १२८ च्यानल इइजी मेसिनका साथै रेडियो फिक्वन्सी मेसिन भित्राएको छ।
अस्पतालका कार्यकारी अध्यक्ष मधु दीक्षित देवकोटाले स्नायु विज्ञानमा निरन्तर विकसित प्राविधिक प्रगति अनुरुप स्नायु शल्यक्रियालाई सुरक्षित, न्यून जोखिम, सहज र विश्वस्तरीय बनाउन अस्पतालले विभिन्न समयमा प्रविधी र उपकरणहरु भित्राउदै आएको बताइन् ।
कार्यक्रममा न्युरो सर्जरी विभागका प्रमुख न्युरो सर्जन डा. निकुञ्ज योगी, न्युरो सर्जन डा. सुरज थुलुङ, न्युरो सर्जन डा. सागर कोइराला, न्युरोलोजिष्ट डा. घनश्याम खरेल, एनेस्थेसियोलोजिष्ट डा. रुपेश राजभण्डारीलगायतले प्रविधी, उपकरण र यसका कार्यप्रणालीबारे जानकारी गराउँदै विरामीलाई उपचार सहज, सुलभ र छरितो भएको बताए । चिकित्सकहरुका अनुसार, अत्याधुनिक उपकरणका कारण विरामीको अपस्ताल बसाइ ५० देखि ७५ प्रतिशतले घट्न सक्छ ।

नेपालको आधुनिक स्नायु स्वास्थ्य विज्ञानका पिता प्रा.डा. उपेन्द्र देवकोटाको स्नायु विज्ञान विधाप्रतिको निष्ठा, त्यसको विकास प्रतिको प्रतिबद्धता तथा देश प्रतिको समर्पणका रुपमा १९ बर्षअघि स्थापित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेजले स्नायु शल्यचिकित्सा (न्युरो सर्जरी) र स्नायु चिकित्सा (न्युरोलोजी), न्युरो इन्टरभेन्सनका साथै स्नायु सम्बद्ध अरु सेवाहरु जस्तै न्युरो–एनेस्थेसिया, न्युरो–रेडियोलोजी, न्युरो–प्याथोलोजी, न्युरो–साइक्याट्री एंव मनोरोग, न्युरो–अटोलोजी, फिजियोथेरापी र पेन क्लिनिकजस्ता सबै विशिष्ट संवेदनशील सेवा सुविधाहरु एकैसाथ चौबिसै घण्टा एकै छानामुनि उपलब्ध गराउँदै आएको छ ।
स्थापनाकालदेखि नै ‘आर्थिक अभावका कारण कुनै पनि सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस्’ उद्देश्यलाई आत्मसात गर्दै आएको संस्थाले सेवा सर्वसुलभ र जनमुखी बनाउने प्रतिबद्धता जनाएको छ।
अस्पतालले हालै भित्राएका उपकरण र प्रविधीबारे यहाँ छोटो चर्चा गरिएको छ ।
ओ-आर्म (O-Arm)
यो उपकरण काठमाडौं उपत्यकामा पहिलो पटक भित्रिएको हो । देशभर भने यो दोेस्रो हो । विशेष गरी मेरुदण्डको हड्डिमा अपरेशन गर्दा प्रयोग हुन्छ। यसले सहि स्थानमा अपरेशन गर्न सजिलो बनाउँछ । योसँगै स्थेल्थ-८ प्रयोग गर्दा हरेक लेबलको स्कु हाल्न सहज बनाउँछ । त्यसैगरी यो र स्टेल्थ-८ प्रयोग गरेर, DBS (डिप ब्रेन स्टिमुलेशन) र लिजनिङ्ग गर्न सकिन्छ जुन माथि उल्लेख गरे जस्तै पार्किन्सन रोग र छारे वा चालको रोगमा प्रयोग हुन्छ ।

स्टेल्थ-८ (Neuro Navigation System)
यस उपकरणले दिमाग वा मेरुदण्डको हु-बहु चित्रण गर्दछ र त्यो भित्रको हरेक महत्वपूर्ण भाग कसरी र कहाँ बसेको छ, त्यसको चित्रण गर्दछ र मापनयोग्य हुने गरी बताउन सक्छ। यो प्रविधिले मस्तिष्क र मेरुदण्दको शल्यक्रिया गर्दा सुरक्षित तरिकाले, रोग लागेको भागलाई मात्र केलाएर निकाल्न मद्दत गर्दछ । त्यसै गरी ढाडमा मेरुदण्डको नजिकै पेचहरु कस्न पर्दा यो उपकरणले मेरुदण्डमा पर्न सक्ने जोखिम न्यूनिकरण गर्दछ । साथ-साथै पार्किन्सन वा मिर्गी रोग वा अन्य शरीरको चाल सम्बन्धी समस्या भए यो प्रवीधीले डि.वि.एस. वा लिजनिङ्ग खालको शल्यक्रिया गर्न मद्दत गर्दछ ।
रोबोटिक माइक्रोस्कोप (केनोभो ९००)
अस्पतालमा सेवा विस्तार सँगै दुई पुराना माइक्रोस्कोप (Leica, Zeiss) मा यो तेस्रो नयाँ माइक्रोस्कोप थपिएको छ । स्नायुशल्यचिकित्सामा यो उपकरण, न्युरोसर्जनको सारथी हो। न्यूरो सम्बन्धी अप्रेशनमा अत्यन्तै जटिल र सुक्ष्म नलिहरु देखि दिमाग वा मेरुदण्डको भाग यसले प्रस्टसँग देखाउँछ। यो माइक्रोस्कोपले 3D Image देखाउँछ र रोबोटिक पारामा यो माइक्रोस्कोपले अप्रेसन गरिरहेको ठाउँको auto focus गर्ने भएकोले लामो र जटिल शल्यक्रिया सजिलो बनाउँछ । साथ-साथै MRI मा देखिएका दिमाग भित्रका नसाका जन्जालहरु यस माइक्रोस्कोपले अप्रेशनको दौरान एकिकृत छवि देखाउँछ। यो उपकरणहरु थपिएसँगै न्युरो सर्जरी थप सुरक्षित हुँदैछ । साथ-साथै तिन वटा माइक्रोस्कोपले बिरामीको चाप अनुसार एकै दिन धेरै बिरामीको एकै साथ अपरेशन गर्न मद्दत गर्दछ र पालो पर्खिनु नपर्ने बनाउछ ।
इन्ट्रा अपरेटिभ न्युरो मनिटरिङ्ग
यस उपकरणले अपरेशनको दौरान हाम्रो शरिरको स्नायु मण्डलमा निस्कने तरङ्गहरु मापन गर्दछ । शल्यक्रिया गर्दा यो मेसिन सुरक्षा वा सावधानीको लागि प्रयोग गरिन्छ । जसरी बिजुली बनाउने टेक्निसियनले बिजुली छ कि छैन भनेर प्रयोग गर्ने वत्तिवाला इन्डिकेटरबाट थाहा हुन्छ त्यसरी नै अपरेशनको बेला बेहोस बिरामीको मस्तिष्क, मेरुदण्ड र नसाको तरङ्ग हेर्न सकिन्छ । यसरी बिरामीलाई पर्न जाने जोखिम न्यूनिकरण हुन्छ। यसबाट बेहोस बिरामीकै शरिरमा हरेक नसाहरु निगरानी गर्दै शल्यक्रिया गर्न सकिन्छ । हातखुट्टाको चाल र छोएको थाहा पाउने क्षमता वा बोलीको केन्द्र सबै मस्तिष्कको कुन भागबाट तरङ्ग आइरहेको छ त्यो अपरेशनको दौरान हेर्न सकिन्छ ।

Natus 128-Channel EEG
नेपालकै पहिलो 128-channel को EEG Machine ले Epilepsy (छारे रोग) को शल्यक्रिया गर्दा मस्तिष्कको कुन ठाउँबाट छारे रोगको तरंग उत्पन्न भएको यकिनका साथ पहिचान गर्न एवं यस ठाउँलाई उपचार गर्न सहयोग गर्छ। यसको साथै बाल बालिकामा congenital seizure disorder का साथै गाढ़ा र अनिर्णित बेहोस हुनु, झट्का आउने घटनाहरु को पहिचानका लागि sleep EEG को प्रयोग गर्न सकिन्छ । एपिलेप्सीको शल्यक्रिया अगाडी विस्तृत तयारीका लागि यसको आवश्यकता पर्दछ ।
INOMED RF Machine
रेडियो फ्रिक्वन्सी मेसिनको मद्दतले न्युरोसर्जरीमा पार्किन्सन डिजिज र movement disorder को लागि lesioning गर्नुका साथै pain medicine मा दुखाइ सम्बन्धी विभिन्न रोगमा एवं trigeminal neuralgia जस्तो रोगमा शल्यक्रिया नगरीकनै उपचार गर्न मिल्छ
प्रतिक्रिया दिनुहोस