आज भाइटीका, उत्तम साइत ११ः३९ बजे

नौलो समाचार संवाददाता
२०८२ कार्तिक ६, बिहिबार मा प्रकाशित १०७ पटक पढिएको

आज भाइटीका, उत्तम साइत ११ः३९ बजे
प्रतिकात्मक तस्वीर

बनेपा / फुल, वत्ती र भातृत्वको पर्व तिहार (यमपञ्चक)को पाँचौ दिन आज भाइटीका मनाइँदैछ ।

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् ।

दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ । तर, आज आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले बताए ।

टीका लगाउँदा कता फर्किने ?
तिहारको भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । यस दिन भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

प्रतिक्रिया दिनुहोस