पक्षघातः परीक्षण गरिएका मध्ये २५ प्रतिशत जोखिममा

नौलो समाचार संवाददाता
२०८२ कार्तिक १२, बुधबार मा प्रकाशित ६४ पटक पढिएको

पक्षघातः परीक्षण गरिएका मध्ये २५ प्रतिशत जोखिममा

ललितपुर / विश्व पक्षघात (स्ट्रोक) दिवस २०२५ को अवसरमा उपेन्द्र देवकोटा फाउण्डेशनले गरेको निःशुल्क स्वास्थ्य परिक्षणमा २५ प्रतिशतमा पक्षघातको जोखिम देखिएको छ ।

ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाईड साईन्सेसको सहकार्यमा गरेको स्वास्थ्य शिविरमा जाँच गराउने ५ सय ६० जनामध्ये १ सय ४० जनाम पक्षघातको जोखिम देखिएको अस्पतालको न्युरोलोजी विभागका प्रमुख वरिष्ठ न्युरोलोजिष्ट डा. घनश्याम खरेलले जानकारी दिए । उनका अनुसार, फेरिँदो जीवनशैली, खानपान, धूम्रपान, मद्यपान लगायतका जोखिमयुक्त व्यवहार, अनियन्त्रित मधुमेह र उच्च रक्तचापका कारण पक्षघातको जोखिम बढिरहेको छ ।

नेपालमा मृत्युको तेस्रो कारणको रुपमा रहेको पक्षाघातबारे जनचेतना जगाउँदै यसको जोखिम कम गर्नस्वास्थ्य परिक्षण र सचेतना र्याली (प्रभातफेरी) गरेको फाउण्डेशनका संस्थापक अध्यक्ष प्रा. डा. मधु दीक्षित देवकोटाले जानकारी दिइन् ।

कार्यक्रममा स्वास्थ्य परिक्षणका अलावा सचेतना र्याली (प्रभातफेरी) का साथै स्वस्थ आहार, जीवनशैली र पक्षघातका जोखिम र बच्ने उपायबारे परामर्श समेत दिइएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत मिलन गुरुङले जानकारी दिए । कार्यक्रममा मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल, मिस नेपाल कस्मो २०२५ दिपशिखा नेपाल, ललितपुर महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधी र स्थानीयको सहभागिता थियो ।

अक्टोबर २९ गते मनाइदै आएको विश्व स्ट्रोक दिवस यो बर्ष Bringing Stroke Advocacy and Awareness Together to Drive Action on Stroke भन्ने नारासहित मनाइएको हो ।

फाउण्डेशनले यसअघि पोखरामा कार्यरत करीब १ सय ५५ जना चिकित्सकलाई स्ट्रोक सम्बन्धी मेडिकल शिक्षा, गोरखाका करीब १ हजार ५ सय लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर, चितवनको चनौलीमा करिव १ हजार ६ सय लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर, दाङको नेपाल–भारत मैत्री उमा शंकरनाथ मेमोरियल बाल अस्पताल, सर्रामा ७ सय ७१ जना लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर र विभिन्न ठाउँमा स्ट्रोकसम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । हालै नेपाल प्रहरी, केन्द्रिय कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बल, केन्द्रिय कार्यालय हलचोकमा प्रहरी अधिकृत तथा जवानहरुलाई मस्तिष्कघात सम्बन्धी सचेतना गरेको थियो ।

२०७९ साल फाल्गुन २ गते मंगलवार स्थापित फाउण्डेशनले सन् २०२३ मा करिब २ सय ५० जना न्युरो साइन्टिष्टको सहभागितामा न्युरोकन–१ र सन् २०२५ मा करिब ५ सय जना न्युरो साइन्टिष्टको सहभागितामा न्युरोकन–२ सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस