मंगलटार / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा भएको स्वास्थ्य शिविरमा ५ सय ४७ जना लाभान्वित भएका छन् ।
रोशी गाउँपालिकाको आयोजना, कान्छीमाया मेमोरियल सामुदायिक अस्पतालको समन्वय तथा ताईवान रुट मेडिकल पिस क्रप्स ताईवानको प्राविधिक सहयोगमा भएको शिविरमा वडा नं. ८, ९, १०, ११, १२ र तेमाल गाउँपालिकाका केही वडाका स्थानीय लाभान्वित भएको स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्यले जानकारी दिए ।
एक दिने निःशुल्क शिविरमा दन्तरोग, छाला तथा यौन रोग , आँखा जाँच, स्त्री रोग सम्बन्धी परिक्षणका साथै औषधी तथा चश्मा निःशुल्क वितरण गरिएको थियो । शाक्यका अनुसार, १ सय ८० जनाको जनरल चेक, १ सय ६४ जनाले आँखा रोग परिक्षण, ९० जनाको दन्त परिक्षण, ४१ जनाको छालारोग, ४१ जनाले अकुपञ्चरका साथै ३१ जनाले स्त्रीरोग सम्बन्धी परिक्षण गराएका थिए ।
ताइवानी स्वास्थ्य प्राविधिक टोलीका संयोजक चरिसले नेपालीहरूमा मधुमेह, उच्च रक्तचाप, पेट सम्बन्धी र स्त्रीरोग बढी पाइएको बताइन् । खानपान र जीवनशैलीका कारण नेपालीहरुलाई यस्ता रोग लाग्ने गरेको बताउँदै उनले जीवनशैली सुधार गरेमा न्यूनिकरण हुने तर्क गरिन् ।
स्वास्थ्य शिविर उद्दघाटन गर्दै गाउँपालिका अध्यक्ष दिनेश लामाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउदै ६० बर्ष माथीका जेष्ठ नागरिकको परिवारको निःशुल्क स्वास्थ्य विमाका साथै विभिन्न समयमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर गरेको जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले विभिन्न संस्थाहरुको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको र यसलाई निरन्तरता दिने बताए ।
ताइवानी चिकित्सक लिनले सुन्दर नेपालका ग्रामिण भेगका स्थानीयहरूको स्वास्थ्य सेवामा सहभागी हुनु पाउँदा भाग्यमानी महशुस गरेको बताइन् ।
‘सेवा नै धर्म’ हो भन्ने भनाइलाई आत्मसात गर्दै काभ्रेपलाञ्चोक जिल्लाको पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविरको समन्वय गरेको कान्छीमाया फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरले बताए । रोशी गाउँपालिका, बेथानचोक गाउँपालिका साथै पाँचखाल नगरपालिकामा सम्पन्न शिविरमा हालसम्म एक हजार ६ सय ७९ जना लाभान्वित भएको उनले जानकारी दिए । उनका अनुसार, रोशीमा ५ सय ४७ जना, पाँचखाल नगरपालिकामा ७ सय ८० जना र बेथानचोक गाउँपालिकामा ३ सय ५२ जनाले सेवा लिएका छन् । धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा शिविर सञ्चालन गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस