काठमाडौँ विश्वविद्यालयका २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

नौलो समाचार संवाददाता
२०८२ मंसिर २४, बुधबार मा प्रकाशित ३३८ पटक पढिएको

काठमाडौँ विश्वविद्यालयका २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू) को ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् ।

बुधवार केन्द्रीय परिसरमा आयोजित समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३ जना, स्कुल अफ एजुकेसनका २ सय ९४, स्कुल अफ इन्जिनियरिङका ३ सय ४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३ सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका ८ सय ८१ र स्कुल अफ साइन्सका १ सय ९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना छन् । दीक्षितमध्ये पुरुष ५२ दशमलव २४ प्रतिशत ( १ हजार १ सय ५४ जना) र महिला ४७ दशमलव ७६ प्रतिशत (एक हजार ५५ जना) छ । दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना अर्थात् विदेशी छन् ।

काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर्स् अफ फिलोसेफी बाइ रिसर्च इन म्याथम्याटिक्समा १ जना र ब्याचलर अफ साइन्स इन अग्रिकल्चर मा २९ जना दीक्षित भएका छन् । त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक मास्टर्स् अफ मेडिकल रिसर्चमा २० जना दीक्षित भएका छन् । ३१औं दीक्षान्तको पहिलो चरणसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको संख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको संख्या ५ हजार ८ सय ६० अर्थात करीब १२ प्रतिशत रहेको छ ।

स्नातकोत्तर तहमा सबैभन्दा बढी ४ सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस् इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एण्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरब सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमविए तहमा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९४ ल्याउने स्कुल अफ म्यानेटमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक ३.९४ सजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका सौगात दंगाललाई प्रदान गरिएको छ । स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रालाई प्रदान गरिने न्हुछेरत्न तुलाधर स्वर्ण पदक ८२ दशमलव १७ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ लुम्बिनी मेडिकल कलेजकी रक्षा तिवारी, स्नातक तह (स्कुल अफ म्यानेटमेन्ट) मा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९९ प्रतिशत प्राप्त गर्ने स्वस्तिका आचार्यलाई प्रेमराज पन्त स्वर्णपदक र ब्याचलर अफ बिजनेस मेनेजमेन्ट र ब्याचलर अफ ल कार्यक्रममा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ३९ प्राप्त गर्ने स्कुल ल का आल्सा रेग्मीलाई दिनेश थापा स्वर्णपदक प्रदान गरिएको छ ।

बुधवार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना भएको समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनसमेत सहभागी थिए । समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक सान्तीश्री धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिएकी हुन् । रजिष्ट्रार प्राध्यापक डा. राजीव श्रेष्ठले सञ्चालन गरेको समारोहमा उपकुलपति प्रा. डा अच्युत वाग्लेले विश्वविद्यालयका तर्फबाट स्वागत मन्तव्य दिएका थिए ।






प्रतिक्रिया दिनुहोस