किर्तिपुरमा लायन्स मिनी मेला हुने

नौलो समाचार संवाददाता
२०८२ पौष ३, बिहिबार मा प्रकाशित ११५ पटक पढिएको

किर्तिपुरमा लायन्स मिनी मेला हुने

काठमाडौँ / लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचको आयोजनामा काठमाडौंको ‘सांस्कृतिक तथा ऐतिहासिक नगर’ किर्तिपुरमा आगामी पुष ११ र १२ गते ‘तेस्रो लायन्स मिनी मेला’ आयोजना हुने भएको छ ।

‘समुदाय कल्याण र सांस्कृतिक मेला’ भन्ने नाराका साथ आयोजना हुने मेला किर्तिपुर नगरपालिका वडा नं १, २ र १० मा रहेका ऐतिहासिक चिलञ्चो मन्दिरदेखि उमामहेश्वर मन्दिरसम्मको मार्गमा मेला आयोजना गरिनेछ ।

डिष्ट्रिक्टको तर्फबाट लायन्स तथा लियो क्लब अफ कीपु, लायन्स क्लब अफ काठमाडौं पद्यमकाष्ठपुर र लायन्स तथा लियो क्लब अफ कीर्तिपुरले संयुक्त रूपमा आयोजनाको जिम्मेवारी लिएका छन् ।

मेलाले किर्तिपुरको मौलिक संस्कृति र पहिचानलाई देशभर चिनाउन सहयोग पुग्ने विश्वास गरिएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचका जीएमटी कोर्डिनेटर रामकृष्ण बिसीले जानकारी दिए  ।

मेलाका अवसरमा स्वास्थ्य सचेतना तथा प्रारम्भिक स्वास्थ्य परीक्षण शिविरसमेत सञ्चालन गरिनेछ । आँखा, मधुमेह, दाँत तथा मुख स्वास्थ्यका साथै मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम र रक्तदान कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

मेलामा सहभागी अवलोकनकर्ताले किर्तिपुरका ऐतिहासिक मन्दिरहरूको जानकारी लिनुका साथै परम्परागत नेवारी सांस्कृतिक प्रस्तुति, लोकसंगीत र नृत्यको आनन्द लिन सक्नेछन्  ।  साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गरिनेछ। मेलामा चौरासी व्यञ्जनसहित मौलिक नेवारी भोजका विविध परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ ।

मेलामा ३० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् । स्थानीय उत्पादन, हस्तकला, जैविक सामग्री, प्राविधिक सेवा, शैक्षिक तथा वित्तीय संस्थाका स्टलहरू रहने बिसीले जानकारी दिए । उनका अनुसार, सहभागीका लागि कीर्तिपुरस्थित होटल तथा होमस्टे सुविधासमेत व्यवस्थापन गरिएको छ ।






प्रतिक्रिया दिनुहोस