च्याम्राङवेशी / आफू पढेको विद्यालयको विकासका लागि बेथानचोक गाउँपालिका वडा नम्बर १ स्थित चक्रेश्वर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी, शिक्षक र अभिभावक जुटेका छन् । पूर्व विद्यार्थी मञ्चहरुको अगुवाईमा विद्यालयका पूर्व शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पुनर्मिलन कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयमा अध्ययन–अध्यापन गरेर देश, विदेशमा विभिन्न पेशा, व्यवसायमा संलग्न भएका पूर्व विद्यार्थी, शिक्षक र अभिभावकलाई एकजुट बनाई विद्यालयको शैक्षिक उन्नयनमा सहभागी गराउने उद्देश्यले पुनर्मिलन कार्यक्रम गरेको सो स्थानमा मदानी डेरी उद्योग सञ्चालन गरेका पूर्व विद्यार्थी माधवप्रसाद दाहालले जानकारी दिए ।

प्रधानाध्यापक हरिप्रसाद घिमिरेका अनुसार, शुक्रवार र शनिवार गरी दुई दिन हुने कार्यक्रममा संस्थापक, पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम छ । २०१२ सालमा स्थापना भएको विद्यालय २०३४ सालमा निम्न माध्यमिक विद्यालय, २०४९ सालमा कक्षा ९ हुँदै २०५० सालमा पहिलो पटक एसएलसी परिक्षामा सामेल भएको थियो । २०६४ सालमा तत्कालिन उच्च माध्यमिक विद्यालय (कक्षा ११) सञ्चालन भएको चक्रेश्वर माध्यमिक विद्यालयबाट हालसम्म ६ सय ३६ जनाले माध्यमिक शिक्षा परिक्षा (एसइइ र एसएलसी समेत) पास गरिसकेका छन् भने १ सय ७३ जनाले १० प्लस २ पास गरेको प्रधानाध्यापक घिमिरेले जानकारी दिए । हाल २१ शिक्षक कार्यरत विद्यालयको स्थापनाकालदेखि हालसम्म सेवा गरेका १ सय ४० शिक्षक ९ जनाको मृत्यु भइसकेको छ ।

शुक्रवार कार्यक्रम उद्दघाटन गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र विद्यालयको विकासको लागि पूर्व विद्यार्थी, शिक्षक र अभिभावकले लिएको तदारुकताको प्रशंसा गर्दै प्रदेश सरकारले पनि सामुदायिक विद्यालयमा स्थानीयको अपनत्व खोजिरहेको बताए । सामुदायिक विद्यालयको शिक्षण सिकाई कृयाकलाप, विज्ञान प्रविधी, पूर्वाधार विकासको लागि प्रदेश सरकारले काम गर्ने बताउँदै पूर्वाधार विकास लगायतका क्षेत्रमा स्थानीय सरकारसंग साझेदारी गर्ने बताए । सो क्षेत्रबाट २ पटक जनप्रतिनिधी बन्ने अबसर पाएको भन्दै उनले बनेपाबाट च्याम्राङवेशी हुँदै फापरबारीबाट हेटौंडा पुग्ने सडकलाई प्रदेशको उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले सो क्षेत्रको पर्यटन विकासको लागि आफूले योगदान गर्ने बताए । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स्थानीय तहका विद्यालयको शैक्षिक र पूर्वाधार विकासको लागि स्थानीय सरकारले संघ र प्रदेश सरकारसंग सहकार्य अघि बढाइरहेको बताए ।

कार्यक्रममा ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर के.सी., बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना, निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिना, वडा नं. १ का अध्यक्ष मधुसुदन तिमल्सिना, डेडीथुम्का बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष कश्यप प्रसाद पौडेल, पूर्व विद्यार्थी माधवप्रसाद दाहाल, नेत्रप्रसाद दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन दाहाल, शिक्षक मेघबहादुर सिंतान लगायतले सो क्षेत्रको शिक्षाको विकासमा चक्रेश्वरले पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस