भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका विभिन्न समूहमा आबद्ध महिलाहरूलाई प्रभावकारी नेतृत्व र सञ्चार सीप सम्बन्धी तालिम प्रदान गरिएको छ ।
नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको संयोजनमा चैत्र १७ देखि २० गतेसम्म भएको तालिममा नगरभित्रका विभिन्न सहकारी, महिला समूहका ५२ जनाको सहभागिता थियो । सहभागीहरूलाई महिला अधिकार, नेतृत्व विकास, सकारात्मक सोचका साथै प्रभावकारी नेतृत्व र सञ्चार सीपका बारेमा प्रशिक्षण दिएको थियो ।
मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले महिला र मानव अधिकार, महिलामाथि हुने हिंसा र कानुनी प्रावधान, महिला सशक्तिकरण, नेतृत्व विकासलगायत विषयवस्तुमा प्रशिक्षण दिएका थिए ।

सञ्चारकर्मी शुभराज अधिकारीले उद्घोषण कला, स्टेज कार्यक्रमको शैली, कुशल वक्ता बन्ने सरल तरिकालगायत विषयमा प्रशिक्षण दिए । सञ्चारकर्मी नगेन्द्र अधिकारीले प्रभावकारी सार्वजनिक भाषण कलाका साथै लैङ्गिक हिंसा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका विषयमा प्रशिक्षण दिएका थिए । तालिममा संगठन विकासमा नेतृत्वको भूमिकाका साथै सकारात्मक सोच, सिकाई र ज्ञान व्यवस्थापन लगायतका विषयमा समेत प्रशिक्षण दिइयो ।
समापन समारोहमा नगर प्रमुख कुनसाङ लामाले नेतृत्व विकासका साथै हिंसा नियन्त्रणका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले विगतको तुलनामा महिलाहरूको राजनीतिक, सामाजिक अवस्था सुधारिए पनि ग्रामीण भेगमा अझै समस्या रहेको तर्क गरे । उनले महिला लक्षित बजेटलाई प्राथमिकता दिएको भन्दै आगामी दिनमा सीपमूलक तालिममा समेत जोड दिइने बताए ।
तालिमका सहभागी मुना कार्कीले महिला लक्षित कार्यक्रम सञ्चालन गरेकोमा नगरपालिकालाई आभार प्रकट गर्दै लेखा, कम्प्युटरसम्बन्धी तालिमका साथै सिपमूलक तालिममा जोड दिइन् ।

नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले नगरपालिकाले वर्षेनी करिब ७ सय महिलाहरूलाई सचेतना, क्षमता अभिवृद्धिलगायतका विभिन्न तालिमहरु सञ्चालन गरिरहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस