नमोबुद्ध नगरपालिकाको वडा नं ११ बन्यो बालमैत्री वडा

नौलो समाचार संवाददाता
२०८२ चैत्र २५, बुधबार मा प्रकाशित ४३७ पटक पढिएको

नमोबुद्ध नगरपालिकाको वडा नं ११ बन्यो बालमैत्री वडा

कुरुगाउँ/ नमोबुद्ध नगरपालिकाको वडा नं ११ बालमैत्री वडा घोषित भएको छ ।

बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बालमैत्री वडा घोषणा गर्दै वडा अध्यक्ष कृष्णबहादुर तामाङलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुगमन गरेर चैत्र २४ गते वडा घोषणाका लागि स्वीकृति प्रदान गरेको थियो।

बालमैत्री घोषणा हुने वडा नं ११ नमोबुद्धमा तेस्रो वडा हो । यस अघि वडा नं १ र ८ बालमैत्री वडा घोषणा भइसकेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले क्रमशः पालिका हुँदै जिल्लालाई नै बालमैत्री घोषणा गर्नेतर्फ लाग्नुपर्ने बताए । बालमैत्री घोषणा अन्त्य नभइ सुरुवात भएको भन्दै बालविवाह लगायतका अपराध रोकथामको लागि अझै कृयाशिल हुनुपर्ने बताए ।

नगर प्रमुख कुनसाङ लामाले बालमैत्री वडा घोषणा भएकोमा वडा नं ११ लाई बधाई ज्ञापन गर्दै यसको दिगोपनाको लागि कार्यक्रम ल्याउन र कृयाशिल हुन सबैमा अनुरोध गरे ।

कार्यकममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बालमैत्री स्थानीय तह घोषणाका लागि गरिने तयारीले सह्रशाव्दी विकास लक्ष्य पुरा गर्न समेत सहयोग गर्ने बताए ।

नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर तामाङले बालमैत्री अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा वडा नं ११ का सदस्य प्रकाश तामाङ, वडा सचिव शंकर भट्टराई लगायतले बालमैत्री वडा घोषणा र यसको दिगोपन लागि सबै सरोकारवालाको सहयोगको प्रशंसा गर्दै निरन्तरताको कामना गरे ।

कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग गर्ने बाल क्लव, विद्यालय, स्वास्थ्य स्वयंसेविका लगायतका सरोकारवालाहरूलाई सम्मान सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

वडा कार्यालय परिसरमा निर्माण गरिएको बुद्ध प्रतिमा पनि सोही कार्यक्रममा अनावरण गरियो ।

प्रतिक्रिया दिनुहोस