बनेपा / बागमती प्रदेश सरकारले विभिन्न क्षेत्रका प्राविधिक जनशक्ति तयार गरिरहेको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्ले विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा यस वर्ष ३ सय जना भन्दा बढी औद्योगिक प्रशिक्षार्थीहरू तयार गरेको हो ।
परिषद्का कार्यकारी निर्देशक शान्ति लामाका अनुसार यस वर्ष मात्रै विभिन्न १४ शिक्षालयमा अटोमोबाइल्स, सिभिल इन्जिनियरिङ (बिल्डिङ कन्स्ट्रक्सन), होटल म्यानेजमेन्ट, इन्फर्मेसन टेक्नोलोजी, बालविकास सहजकर्ता र मेकानिकल इन्जिनियरिङ विषयमा प्री–डिप्लोमा कोर्ष (२४ महिने निशुल्क तालिम) सञ्चालन भइरहेको छ । सबै कोर्षमा एकपटकमा ४० जना भर्ना हुन्छन् ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) र बाग्मती प्रदेश उद्योग परिसंघसँगको सहकार्यमा सञ्चालित तालिमका प्रशिक्षार्थीले साढे १९ महिना सम्बन्धित उद्योगमा र साढे तीन महिना शिक्षालयमा बिताउँछन् । ‘साढे १९ महिना उद्योगमा नै काम गर्न पाउँछन् र केही कमाई पनि हुन्छ,’ परिषद्का कार्यकारी निर्देशक शान्ति लामाले भनिन्, ’एकातिर पढाइसँगै कमाई पनि हुन्छ, पढाइ पूरा हुँदा सम्बन्धित उद्योगमा नै जागिर सुनिश्चित हुन पनि सक्छ अथवा अनुभवसहित निस्कन्छ र विदेश नै जान चाहे पनि दक्ष जनशक्तिको रुपमा तयार हुन्छ।’

इन्स्योर परियोजनाका मूल्याङ्कन तथा अनुगमन अधिकृत उपेन्द्रराज जोशीका अनुसार प्रशिक्षार्थीले हाजिरी भएको दिनको दैनिक १ सयका दरले भत्ता पाउँछन् । ५२ दिन छुट्टीको सुविधा छ भने ७ लाख बराबरको दुर्घटना बीमा र प्राथमिक उपचार सेवा पनि पाउँछन् । सम्बन्धित उद्योगमा अन द जब ट्रेनिङ (ओजेटी) गर्दा न्यूनतम शुल्क समेत उपलब्ध गराइन्छ ।
बाग्मती प्रदेश उद्योग परिसंघले प्रशिक्षार्थीहरूका लागि कार्यस्थल (उद्योग)को सहजीकरण गर्ने काम गर्छ । परिसंघका वरिष्ठ उपाध्यक्ष दिवस न्यौपानेले स्वदेश तथा विदेशमा प्राविधिक जनशक्तिको उच्च माग भएकाले दत्तचित्त भएर लाग्न प्रशिक्षार्थीहरूलाई अनुरोध गरे । परिसंघका कार्यक्रम अधिकृत कान्छामान तामाङ (नविन) का अनुसार, प्रशिक्षार्थीहरूले उच्चस्तरका होटल, रिसोर्ट लगायतका विभिन्न उद्योगहरूमा काम गरिरहेका छन् ।
सोही कार्यक्रम अन्तर्गत नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा होटल म्यानेजमेन्ट कोर्ष गरेर हाल आगन्तुक रिसर्ट बनेपामा काम गरिरहेकी अन्जना घोरासाइनेले तालिमबाट आफू निकै लाभान्वित भएको तर्क गर्दै स्वदेशमा नै केही गर्ने जाँगर पलाएको बताइन् । रिसोर्टका हरेक विभागमा अनुभव लिएकी उनले बेकरीमा विशेष रुचि भएको सुनाइन् ।
शिक्षालय प्रमुख रोहित दाहालले सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई समानजस्यता बनाउन सके प्राविधिक तालिमले जीवनमा ठूलो प्रभाव पार्ने तर्क गरे ।
प्रतिक्रिया दिनुहोस