बेथानचोक गाउँपालिकामा नै पहिलोपटक बेली ब्रिज

नौलो समाचार संवाददाता
२०८३ अषाढ ५, शुक्रबार मा प्रकाशित ४३ पटक पढिएको

बेथानचोक गाउँपालिकामा नै पहिलोपटक बेली ब्रिज

बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङबेसीस्थित च्याम्राङबेसी–झिङ्गे सडक खण्डमा गाउँपालिकाकै पहिलो बेली ब्रिज (पुल) निर्माण गरिएको छ । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा १ करोड ७० लाखको लागतमा उक्त पुल तयार भएको हो ।

रतन खोलामा विशेष गरी बर्षाको समयमा आवातजावतमा समस्या भोग्दै आएका सुकुमफेदी, च्याम्राङबेसी, झिङ्गे र खानीखोला र महाकांल गाउँपालिकाका स्थानीय समेत लाभान्वित हुने वडा नं १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिए । ‘२०८१ सालको असोजमा आएको बाढी पहिरोमा झिङ्गे लगायतका बस्तीमा जान समस्या भएपछि पुलको आवश्यकता महशुस गरी निर्माण थालेका थियौं,’ उनले भने, ‘पुल निर्मँण पछि स्थानीयका साथै छिमेकी गाउँपालिकाका बासिन्दा समेत लाभान्वित हुनेछन् ।’

बेली ब्रिज उद्घाटन कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विकास निर्माणका पूर्वाधारहरू स्थानीय जनताको जीवनस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै सुकुमफेदी–झिङ्गे क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने बताए । गाउँपालिकाले सडक, पुल, खानेपानी, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखी विकासका कार्यहरू अगाडि बढाइरहेको समेत जानकारी दिए ।

स्थानीय गोपालकृष्ण सापकोटाले पुल निर्माणसँगै यातायात पहुँचमा सुधार आउने, कृषि उत्पादनको बजारीकरण सहज हुने तथा शिक्षा, स्वास्थ्य र अन्य सेवा प्राप्त गर्न नागरिकलाई सुविधा पुग्ने बताए ।

उद्धघाटनमा गाउँपालिका उपाध्यक्ष तारा राणा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, इन्जिनियर ज्ञानप्रसाद तिमल्सिना, वडा नं. १ का अध्यक्ष मधुसूदन तिमल्सिना लगायत जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस