भकुण्डेबेँसी / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ ९ करोड २४ लाख ५६ हजार रुपैयाँ संकलन हुने अनुमान गरेको छ। बाँकी स्रोतका लागि संघीय र बागमती प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँड र अन्य आयलाई समेटिएको नगर उपप्रमुख लामाले जानकारी दिए । विनियोजित कुल बजेटमध्ये चालुतर्फ २० करोड २९ लाख ४४ हजार रुपैयाँ छुट्ट्याइएको छ पुँजीगततर्फ ७१ करोड ७ लाख ९९ हजार १ सय ८० रुपैयाँ छुट्याइएको छ । विभिन्न निकायहरूसँगको लागत साझेदारीका लागि ९ करोड १५ लाख रुपैयाँ व्यवस्था गरिएको छ।
‘पूर्वाधार विकास र उद्यमशीलता प्रवर्द्धनलाई ’ लाई मुख्य प्राथमिकता
नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पशुपालन, सिँचाइ विस्तार र उद्यमशीलता प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। दाहालचौरमा निर्माणाधीन कोल्ड स्टोरलाई बहुवर्षीय योजनाका रूपमा सम्पन्न गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने विस्तारित बजार क्षेत्रमा मानव मलमूत्र व्यवस्थापनका लागि ५० लाख रुपैयाँको लागतमा सक्सन मेसिन खरिद गरिने उल्लेख छ ।
संघीय र प्रदेश सरकारसँगको सहकार्यमा नगरभित्रका वडा नं. ७ को नौबिसे–साउनेडाँडा सडकका लागि ३ करोड ५० लाख रुपैयाँ, वडा नं. ३ को दाहालचौर–तिमाल सडकका लागि २ करोड रुपैयाँ, वडा नं. १० को दलसिङ्गे–दाप्चा सडकका लागि २ करोड रुपैयाँ र वडा नं. १ को हिराको पसल–मथुरापाटी सडकका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्यतर्फ दाप्चा नमोबुद्ध नगर अस्पतालको सुदृढीकरण, मानसिक स्वास्थ्य सेवा र आयुर्वेद सेवा विस्तारका साथै गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा र डिजिटल स्वास्थ्य प्रणाली लागू गरिने नीति तथा कार्यक्रममा छ । महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गर्न मासिक १ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्तालाई निरन्तरता दिँदै अवकाश हुँदा एकमुष्ट २० हजार रुपैयाँ उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ।
बालमैत्री नगरपालिका घोषणा, विद्यार्थी छात्रवृत्ति, स्थानीय पाठ्यपुस्तक निर्माण, ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम, र प्रविधिमैत्री विद्यालय विकास कार्यक्रमले प्राथमिकता पाएका छन् ।
सामाजिक सुरक्षा र डिजिटल सुशासन
नगरपालिकाले बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राहीहरूका लागि घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ। नगरलाई सडक मानवमुक्त बनाउने, लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउने र ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने नीतिले पनि निरन्तरता पाएका छन् ।
विपद् व्यवस्थापनका लागि नगरस्तरीय प्रकोप व्यवस्थापन कोषमा २ करोड रुपैयाँ छुट्ट्याइएको छ भने भू–सूचना प्रणाली र आपतकालीन सञ्चालन केन्द्र स्थापना गरिने नगरपालिकाले जनाएको छ । वैज्ञानिक फोहोर व्यवस्थापन, स्रोतमै फोहोर वर्गीकरण, डिजिटल प्रशासन, साइबर सुरक्षा र शून्य बेरुजु नीतिलाई कडाइका साथ लागू गरिने बताइएको छ। आमसञ्चार क्षेत्रको प्रवर्द्धन र सहकार्यका लागि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखालाई २ लाख रुपैयाँ अनुदान समेत विनियोजन गरिएको छ।

नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर प्रमुख कुनसाङ लामाले यस पटकको योजनाले विपद्पछिको पुनर्निर्माणलाई समेत सम्बोधन गर्दै नमोबुद्धको समग्र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस