अमलटार / रोशी गाउँपालिकाले ६० वर्षमाथि र ७० वर्षमुनिका ज्येष्ठ नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रबन्ध मिलाएको छ ।
रोशी गाउँपालिका सभाको १९ औं अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दिनेश लामाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पेश गरेको बार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरी बजेट समेत सुनिश्चित गरिएको छ ।
संघीय सरकारले ७० बर्ष माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका साथै निशुल्क स्वास्थ्य विमा गर्दै आएको छ । महिला स्वास्थ्य स्वंयमसेविकाको लागि बिमा प्रिमियमको ५० प्रतिशत सरकारले बोहोर्दै आएकोमा रोशी गाउँपालिकाले थप सुविधा उपलव्ध गराएको हो ।
रोशीले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पनि निःशुल्क दिवा खाजाको व्यवस्था गर्ने भएको छ । ६९ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । संघीय सरकारले कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीको लागि मात्रै दिवा खाजा उपलव्ध गराउँदै आएको छ ।
रोशी गाउँपालिकाले तीनधारे झरना, ताराखसे लेक, भूमिचुली डाँडा र बाह्रवर्षे गोदावरी मेला लाग्ने चैत्य पानी लेक जस्ता क्षेत्रहरूको संरक्षण र व्यवस्थापनका लागि कार्यविधि बनाएर समिति गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ती क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटक भित्र्याइने र पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भगिनी सम्बन्ध विस्तार गर्न पहल गरिने नीति लिइएको छ ।
बाढी र पहिरोबाट प्रताडित गाउँपालिकाले नीजि आवास पुनर्निर्माण र प्रबलिकरणलाई जोड दिँदै ६० लाख रकम विनियोजन गरेको छ । विगतका प्राकृतिक विपद् र बाढीपहिरोले पु¥याएको क्षतिको कुशल व्यवस्थापन गर्दै पालिकालाई समृद्ध बनाउने संकल्प गाउँपालिकाको छ ।
७२ करोड ९९ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्ताव
आगामी आर्थिक वर्ष २०८३/८४ का रोशी गाउँपालिकाले कुल रु. ७२ करोड ९९ लाख ४२ हजार बराबरको आय र व्ययको अनुमान (बजेट) प्रस्तुत गरेको छ ।
रोशी गाउँपालिका सभाको १९ औं अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष मीमबहादुर वाइवाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पेश गरेको बजेट वक्तव्यमा अन्तरिम मौज्दातसमेत गरी आन्तरिक स्रोतबाट ५ करोड ८३ लाख ६५ हजार संकलन हुने अनुमान गरिएको छ।
राजस्व बाँडफाँडतर्फ स्थानीय राजस्व बाँडफाँडबाट रु. ३ करोड ३० लाख, संघीय राजस्व बाँडफाँडबाट रु. ९ करोड ८६ लाख ८९ हजार र प्रदेश राजस्व बाँडफाँडबाट रु. ४ करोड ५ लाख ३१ हजार प्राप्त हुने अनुमान छ । संघीय सरकार समानीकरण १० करोड ४३ लाख रुपैयाँ, संघीय सशर्त अनुदान ३३ करोड २३ लाख रुपैयाँ, संघीय समपूरक अनुदान ३० लाख रुपैयाँ, संघीय विशेष अनुदान ७६ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण ९१ लाख ५९ हजार रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदान १ करोड २७ लाख ९८ हजार रुपैयाँ, प्रदेश सरकारको समपूरक अनुदान २ करोड ४५ लाख रुपैयाँ र प्रदेश विशेष अनुदान ५५ लाख हुने अनुमान गरिएको छ ।




प्रतिक्रिया दिनुहोस