धुलिखेल / नगरवासीको आँखा सम्बन्धी उपचार निशुल्क गर्न धुलिखेल नगरपालिकाले बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालसँग समझदारी गरेको छ ।
बिहिबार दुई पक्षबिच भएको सम्झौतामा मोतियाबिन्दु शल्यक्रिया, रेटिना शल्यक्रिया र एभास्टिन खोप सेवा निःशुल्क हुने उल्लेख छ । एभास्टिन खोप मधुमेहले आँखाको पर्दामा असर गर्दा, उमेर बढेसँगै दृष्टिमा आउने समस्या र आँखाको पर्दामा रगत वा अन्य तरल पदार्थ जमेर हुने सुन्निने समस्या हुँदा दिइन्छ ।
नगरवासीमा देखिने आँखासम्बन्धी जटिल समस्याको समयमै उपचार गरी दृष्टिविहीनताको जोखिम कम गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको कार्यावहाक नगर प्रमुख निराजन जंगमले जानकारी दिए । विशेष गरी विपन्न तथा पहुँचबाहिर रहेका नागरिकहरूलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरे ।
आँखा सम्बन्धी उपचारको लागि जिल्ला र आसपासमा ख्याती कमाएको रेयुकाई आँखा अस्पतालले जिल्लाका अन्य स्थानीय तहसंग समेतको साझेदारीमा मोतियाविन्दुको उपचारमा सेवा दिएको अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस