काभ्रेपलाञ्चोकमा ट्राफिक प्रहरी : राजस्वमा भन्दा सचेतनामा जोड

नौलो समाचार संवाददाता
२०८३ श्रावण १४, बिहिबार मा प्रकाशित ६१ पटक पढिएको

काभ्रेपलाञ्चोकमा ट्राफिक प्रहरी : राजस्वमा भन्दा सचेतनामा जोड

बनेपा / जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला वर्षहरूमा जरिवाना असुली र राजस्व संकलनभन्दा पनि नागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने रणनीतिलाई प्राथमिकतामा राखेको छ । ट्राफिक नियम उल्लंघन गरेपछि कारबाही गर्नुभन्दा नियम पालना गर्ने वातावरण सिर्जना गर्नु उपयुक्त भएको भन्दै ट्राफिक प्रहरीले सचेतनामूलक अभियान चलाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा ४ हजार ३ सय ३१ वटा सचेतनामूलक कक्षामार्फत ३ लाख ४५ हजार ५ सय १२ जनालाई सडक अनुशासन, सडक सुरक्षा, ट्राफिक नियम र दुर्घटना न्युनिकरणबारे सचेतना जगाइएको छ । ट्राफिक प्रहरीले शैक्षिक संस्थामा ५६ वटा सचेतना कक्षा सञ्चालन गरी ३ हजार ९ सय ५८ जना विद्यार्थी तथा शिक्षकहरूलाई सचेत गराएको छ । त्यसैगरी, ६ सय ८ वटा कक्षा मार्फत ४१ हजार १५ जना चालक र यातायात व्यवसायीलाई ट्राफिक नियमबारे जानकारी दिइएको छ भने २ सय १३ वटा कक्षामार्फत १६ हजार ५ सय ७० जना पैदलयात्री र सडक प्रयोगकर्तालाई सडक सुरक्षाबारे अभिमुखीकरण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको तथ्याकं अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार २ सय ५२ वटा कारबाहीबाट २ करोड ५१ लाख ५७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएकोमा आ.व. २०८१/८२ मा कारबाही संख्या घटेर १५ हजार ५७ मा पुगेको छ जसबाट १ करोड १९ लाख ५० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । आ.व. २०८२/८३ मा १० हजार ९ सय ९ वटा कारबाहीबाट ९७ लाख २६ हजार ४ रुपैयाँ मात्र राजस्व संकलन भएको प्रहरीले जनाएको छ । आ.व. २०८०/८१ को तुलनामा आ.व. २०८२/८३ सम्म आइपुग्दा कारबाही संख्यामा करिब ७० प्रतिशतभन्दा बढीले कमी आएको छ । राजस्व संकलन पनि २ करोड ५१ लाखबाट घटेर ९७ लाखमा झरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा १ सय ८१ वटा दुर्घटना हुँदा ३३ जनाको मृत्यु र ८४ जना घाइते भएका थिए । आ.व. २०८१/८२ मा दुर्घटना संख्या घटेर १ सय ४३ मा आएको थियो, जसमा २५ जनाको मृत्यु र ७४ जना घाइते भएका थिए । त्यस्तै, आ.व. २०८२/८३ मा १ सय ३८ वटा दुर्घटना हुँदा २९ जनाको मृत्यु र ७५ जना घाइते भएका छन् ।

प्रहरी निरीक्षक श्रेष्ठले बढ्दो सडक, सवारी साधनका बाबजुद सिमित जनशक्तिले काम गरिरहेको बताउँदै सवारी दुर्घटना न्युनिकरणको लागि काम गरिरहेको बताए । प्रमुख दुई राजमार्ग वी.पी., अरनिको र आसपासका सडकमा क्षमता भन्दा बढी तौल बोक्ने र अन्य सवारीसाधनको कारण जोखिम बढेको स्विकार्दै उनले नियन्त्रणको लागि कदम चाल्ने बताए ।






प्रतिक्रिया दिनुहोस