काभ्रेपलाञ्चोक जिल्लालाई २०८४ भित्र बालमैत्री जिल्ला बनाउन पहल

नौलो समाचार संवाददाता
२०८३ श्रावण १५, शुक्रबार मा प्रकाशित ५४ पटक पढिएको

काभ्रेपलाञ्चोक जिल्लालाई २०८४ भित्र बालमैत्री जिल्ला बनाउन पहल

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लालाई २०८४ साल भित्र बालमैत्री जिल्ला घोषणा गर्न पहल थालिएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सबै स्थानीय तहहरूसंग अन्तरक्रिया गरेर बालमैत्री स्थानीय वडा र तह घोषणाका लागि तीव्रता दिन पहल थालेको हो ।

बालमैत्री स्थानीय शासनका तत्कालीन ३९ वटा सूचक पूरा गरेर धुलिखेल नगरपालिका र पनौती नगरपालिका यसअघि नै बालमैत्री स्थानीय तह घोषित भइसकेका छन् भने नमोबुद्ध नगरपालिकाको वडा नम्बर १, ८, ११, ६, ७, ४ र ३ र मण्डन देउपुर नगरपालिकाको एउटा वडा बालमैत्री वडा घोषित भएका छन् ।

अन्तरक्रिया कार्यक्रममा पनौती नगरपालिकाको बालमैत्री शाखा प्रमुख केशव बन्जारा र धुलिखेल नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले तत्कालीन समयमा ३९ वटा सूचक पूरा गरेर बालमैत्री स्थानीय तह घोषित भएका स्थानीय तहले थप सूचक पुरा गर्न काम गरी अध्यावधिक गरिसकेको र यसको निरन्तरताका लागि काम भइरहेको बताए ।

नमोबुद्ध नगरपालिकाका बालमैत्री सहजकर्ता प्रमिला हुमागाईंले नमोबुद्धका ११ मध्ये ७ वटा वडा बालमैत्री घोषणा भइसकेको र थप ४ वटा असोज मसान्तभित्र घोषणा गरी पालिकालाई नै बालमैत्री घोषणा गर्नेे तयारी रहेको बताइन् ।

छलफलमा सहभागी पाँचखाल नगरपालिका, मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका, रोशी गाउँपालिका, बेथाञ्चोक गाउँपालिका, चौरीदेउराली गाउँपालिका लगायतका स्थानीय तहका प्रतिनिधिहरूले बालमैत्री स्थानीय शासन लागू गर्न आफ्नो पालिकामा थोरै काम भएपनि त्यसलाई पूरा गर्न सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।

जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष आयुष न्यौपानेले सडक बालबालिका बालविवाह लगायत केही समस्याहरू रहेको इङ्गित गर्दै बालमैत्री पूर्वाधार निर्माणमा पनि पालिकाहरूले जोड दिनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक डिएसपी रविन बिष्टले विद्यमान कानुनी व्यवस्था अनुसार प्रहरीले काम गरिरहेको जानकारी दिँदै समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत बालबालिकाहरूमा सचेतनाको काम गरिरहेको बताए । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकका अधिकृत विन्दा भुर्तेलले बालमैत्री घोषणालाई घोषणा मात्रै सीमित नगरी यसको वास्तविक कार्यान्वयनमा जानुपर्ने बताइन्। जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले स्वास्थ्य र पोषण क्षेत्रका सूचकहरू पूरा भएपनि बालविवाह लगायतका कारणले हुनसक्ने मातृ तथा शिशु मृत्युदर कम गर्न चुनौती रहेको बताए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमले सन् २०३० सम्म नेपाललाई नै बालमैत्री राष्ट्र घोषणा गर्ने सरकारको तयारी लाई पूरा गर्न सबै एकजुट हुनुपर्ने बताए । २०८४ सालसम्म काभ्रेलाई नै बालमैत्री स्थानीय शासन युक्त जिल्ला घोषणा गर्नुपर्ने बताउँदै उनले यसलाई अभियानकै रुपमा अघि बढाइएको बताए ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताए ।






प्रतिक्रिया दिनुहोस