धुलिखेल / धुलिखेल अस्पतालले ५ बर्षको अवधीमा १ हजार ५ सय २२ जनालाई जीवन रक्षा सम्बन्धी आधारभूत तालिम प्रदान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, क्यानेडियन रेडक्रस, म्याकगिल युनिभर्सिटी लगायतका संस्थाको सहकार्यमा आ.व २०७८/७९ देखि शुरु भएको तालिममा सो बर्ष ३ सय जना, २०७९/८० मा २ सय १५ जना, २०८०/८१ मा २ सय ४८ जना, २०८१/८२ मा २ सय ८१ जना र २०८२/८३ मा ४ सय ७८ जनाई दिइएको जीवन रक्षा सम्बन्धी आधारभूत तालिमका प्रशिक्षक समेत रहेका हाडजोर्नी रोग विशेषज्ञ डा. रोहित श्रेष्ठले जानकारी दिए ।
जीवन रक्षा सम्बन्धी आधारभूत तालिममा बिरामी अस्पताल पुग्नु अघि नै उनीहरूलाई समय–संवेदनशील र महत्वपूर्ण उपचार सेवा प्रदान गर्न सिकाइन्छ । श्वासप्रश्वास मार्गको आकस्मिक अवस्था, सीपीआर र ब्याग–भाल्भ मास्कको प्रयोग आवश्यक पर्ने अवस्थाहरू पहिचान गर्ने, मेरुदण्डमा चोट लागेको आशंका भएका बिरामीहरूलाई सुरक्षित रूपमा ओसारपसार गर्ने, हड्डी टुटफुट व्यवस्थापन र घाउ व्यवस्थापनसहित रक्तस्राव नियन्त्रण गर्ने सिप सिकाइन्छ । उपकरणहरूको उचित प्रयोगका साथै सीमित स्रोतसाधन भएका ठाउँहरूमा कसरी तत्काल उपलब्ध विकल्पहरू प्रयोग गर्ने बारेमा पनि तालिम जानकारी दिइन्छ । डा. रोहितका अनुसार, आपतकालीन अवस्थामा उपचारविना बित्ने प्रत्येक मिनेटमा बिरामी बाँच्ने दर १०% ले घट्छ । समयमै सिपिआर पाएमा ’सडेन कार्डियाक एरेस्ट’ (अचानक मुटु बन्द भएका) बिरामीको बाँच्ने दर ७५% सम्म पुग्छ ।

अस्पतालको आधारभूत जीवन रक्षा तालिम संयोजक सनिता सुर्खेतीका अनुसार, आर्थिक बर्ष २०८२/८३ मा ४ सय ७८ जनालाई तालिम दिइएको छ । तीमध्ये धुलिखेल अस्पताल भित्रका ३ सय १६ जना र अस्पताल बाहिरका १ सय ६२ जना छन् । उनका अनुसार, साइकलिस्ट, इन्जिनियर, प्रशासनिक कर्मचारी, ट्राफिक प्रहरी, सुरक्षा गार्ड÷अटेन्डेन्ट र स्थानीयहरु समेतले तालिम लिएका छन् । चिकित्सक, नर्सिङ स्टाफ, इन्टर्न, प्यारामेडिक्स, डेन्टल÷फार्मेसीका विद्यार्थी पनि तालिममा सहभागी छन् ।
धुलिखेल अस्पतालको आकस्मिक विभागमा कार्यरत डा. सम्झना बस्नेत, डा. सानु कृष्ण श्रेष्ठ, डा. रोशना श्रेष्ठ, डा. अनमोल पूर्ण श्रेष्ठ, डा. राजकुमार दङ्गाल, डा. शैलेश श्रेष्ठ, राधा आचार्य, सनिता सुर्खेती, श्रीजेश पराजुली, शिव न्यौपाने, मच्छिन्द्र सापकोटा, रमेश मानन्धर, हाडजोर्नी विशेषज्ञ डा. रोहित श्रेष्ठ, डा. जगदिश थापा, डा. विकास थापा, डा. अस्कल बासी, इन्टरनल मेडिसिनका डा. नविन सिम्खडा, डा. पुकार केसी, डा. विप्लव अधिकारी, डा. अमिरराज गिरी, एनेस्थियोलोजिष्ट डा. संगिना श्रेष्ठ, डा. कल्पना श्रेष्ठ, जनरल सर्जन डा. यज्ञ रत्न शाक्य, बालरोग विशेषज्ञ डा. अनिश श्रेष्ठ, नर्सिङ इञ्चार्ज गायत्री पौडेल, सरिता भण्डारी, प्रार्थना देवजुलगायतको टोलीले जीवन रक्षा सम्बन्धी आधारभूत तालिममा प्रशिक्षण दिने गरेका छन् ।
प्रशिक्षकको पर्याप्त उपलब्धता, प्रशिक्षक र प्रशिक्षार्थीको अनुपात, तालिम हलको प्राविधिक समस्या , म्यानेकिन (डमी) लगायतका उपकरणको अभावका कारण चुनौती रहेको डा. रोहितले जानकारी दिए । उनका अनुसार, समुदायस्तरमा विस्तार गरी शिक्षक, विद्यार्थी, होटल व्यवसायी, फस्ट रेस्पोनडर रहेका चालक, स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका र प्रशासकहरूलाई तालिम दिने लक्ष्य छ ।





प्रतिक्रिया दिनुहोस