कोरोनाभाइरस फैलाएको भन्दै अमेरिकामा चीनविरूद्ध मुद्धा, खर्बौं डलर बराबरको क्षति गराएको आरोप

नौलो समाचार संवाददाता
२०७७ बैशाख १०, बुधबार मा प्रकाशित ५०३ पटक पढिएको
कोरोनाभाइरस फैलाएको भन्दै अमेरिकामा चीनविरूद्ध मुद्धा, खर्बौं डलर बराबरको क्षति गराएको आरोप

वैशाख १०, एजेन्सी । अमेरिकाको मिजौरी राज्यका महान्याधिवक्ताले मंगलबार कोरोनाभाइरसको संक्रमण फैलाएर खर्बौं अमेरिकी डलरको आर्थिक क्षति पुर्‍याएको भन्दै चीनविरूद्ध मुद्दा दर्ता गरेका छन्।

मुद्धामा चीन सरकारले सुरूमा कोरोनाभाइरस ढाकछेप गरेकाले संसारभर महामारी फैलिएको आरोप लगाइएको छ।

पूर्वीमिजौरीको जिल्ला अदालतमा दायर गरिएको मुद्धामा महान्याधिवक्ता एरिक स्मिटले चिनियाँ अधिकारीहरूले भाइरस मानिसबाट सर्ने जानकारी लुकाएको, संक्रमणको चेतावनी दिनेलाई चुप लगाएको, प्रकोप नरोकी विश्वभर फैलिन दिएको आरोप लगाएका छन्।

महान्याधिवक्ता स्मिटले मुद्धाबाट आफूले ठूलो मात्रामा भएको जनधनको क्षति र त्यसबाट मानिसले पाएको दुःख र मिजौरीका जनताले भोग्नु परेको आर्थिक अशान्तिको न्याय खोजेको बताएका छन्।

चिनियाँ अधिकारीबाट भएको छल, ढाकछेप, असक्रियता एवम् कोरोनासम्बन्धी सूचना लुकाउने कुकर्मले महामारी ल्याएकोु उजुरीमा उल्लेख छ।

उजुरीमा चीनसँग माग्नु पर्ने क्षतिको रकम भने उल्लेख गरिएको छैन्।

चिनियाँ स्वास्थ्य अधिकारीले डिसेम्बरको अन्त्यमा नै कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने प्रमाण पाएको भए पनि जनवरी २० सम्म त्यसलाई लुकाएको उनको आरोप छ।

मुद्धामा चीनको राष्ट्रिय स्वास्थ्य आयोग, वुहान नगरको सरकार तथा वुहान इन्सिट्यूट अफ भाइरोलोजीलाई प्रतिवादी बनाइएको छ।

वुहान कोरोना भाइरसको उद्गमस्थल हो भने वुहान इन्सिट्यूट अफ भाइरोलोजी अमेरिकाले कोरोना भाइरस लिक भएको भनेर आशंका गरिएको ठाउँ हो।

गत साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले उक्त आशंकाबारे आफैं अनुसन्धान गर्न त्यहाँ पहुँच खोजिरहेको बताएका थिए।

सुरुमा भेटिएका संक्रमित सो इन्स्टिच्युटबाट नजिकै रहेको समुन्द्री खाना तथा वन्यजन्तु बजारसँग सम्बन्धित थिए।

कोभिड(१९ नाम दिइएको कोरोना भाइरसबाट हालसम्म संसारमा २५ लाख बढी मानिसहरू संक्रमित भइसकेका छन् भने १ लाख ७४ हजार मानिसहरूको ज्यान गइसकेको छ।


प्रतिक्रिया दिनुहोस