काठमाडौं उपत्यकामा कांग्रेस ६, रास्वपा ४ र एमाले २ क्षेत्रमा विजयी

नौलो समाचार संवाददाता
२०७९ मंसिर ७, बुधबार मा प्रकाशित ९५० पटक पढिएको
काठमाडौं उपत्यकामा कांग्रेस ६, रास्वपा ४ र एमाले २ क्षेत्रमा विजयी

मंसिर ७, काठमाडौं। प्रतिनिधि सभातर्फ काठमाण्डौ उपत्यकामा रहेका १५ वटा निर्वाचन क्षेत्रमध्ये १२ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

काठमाण्डौका १० वटा निर्वाचन क्षेत्रमध्ये सबै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। ललितपुरका तीन वटा निर्वाचन क्षेत्रमध्ये दुई वटा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ भने भक्तपुरमा दुई वटै क्षेत्रमा मतगणना भइरहेको छ।

काठमाण्डौमा नेपाली कांग्रेस ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४ र नेकपा एमाले १ क्षेत्रमा विजयी भएको छ। काठमाण्डौ १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ। यस्तै काठमाण्डौ २ मा रास्वपाकी सोबिता गौतम विजयी हुनुभएको छ। काठमाण्डौ ३ मा कांग्रेसका सन्तोष चालिसे, काठमाण्डौ ४ मा कांग्रेसका गगन थापा, काठमाण्डौ ५ मा कांग्रेसकै प्रदीप पौडेल र काठमाण्डौ ६ मा रास्वपाका शिशिर खनाल विजयी हुनुभएको छ। काठमाण्डौ ७ मा रास्वपाका गणेश पराजुली, काठमाण्डौ ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ, काठमाण्डौ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र काठमाण्डौ १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ।

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री र एमालेका महेश बस्नेतविच कडा प्रतिष्पर्धा भैरहेको छ।

ललितपुर १ मा कांग्रेसका उदय शम्शेर जंगबहादुर राणा र ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ। मतगणना भइरहेको ललितपुर ३ मा रास्वपाकी डा. तोसिमा कार्की ठूलो मतान्तरले अगाडि हुनुहुन्छ।

भक्तपुर १ मा मतगणना चलिरहेको छ। त्यहाँ नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एमालेका नवराज गेलाललाई ठूलो मतान्तरसहित पछाडि पार्नुभएको छ।


प्रतिक्रिया दिनुहोस