रवि लामिछानेको सांसद पद गुमेको चितवन २ मा वैशाख १० गते उपचुनाव

नौलो समाचार संवाददाता
२०७९ माघ २९, आईतबार मा प्रकाशित ८५९ पटक पढिएको
रवि लामिछानेको सांसद पद गुमेको चितवन २ मा वैशाख १० गते उपचुनाव

माघ २९, काठमाडाैं। निर्वाचन आयोगको चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

आज बसेको आयोगको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो।

चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको पनि आयोगले जनाएको छ।

उक्त निर्वाचन क्षेत्रबाट गएको मंसिरमा रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनलाई अनागरिक ठहर गरेपछि उक्त स्थान रिक्त भएको थियो।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ।

प्रतिक्रिया दिनुहोस